झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो
विराटनगर – झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ । यो धरानको खबर हो ।
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो ।
आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको छैन ।
निकुञ्जका एक अधिकारीका अनुसार बच्चा र माउ गैंडाको शरीरमा चिथोरिएका घाउ देखिएको छ । त्यसैले बाघको आक्रमणमा परी मरेको हो कि भन्ने अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीले पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने बताए ।