सत्तारुढ गठबन्धनको बैठक सर्यो
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सरेको छ । दिउसो तीन बजेका लागि बोलाइएको बैठक सरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएपछि दुई घण्टा बैठक सारिएको हो ।
भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो ।
सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् ।
गठबन्धनको बैठकमा आज सहमति जुटाएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने सरकारको तयारी छ । त्यसैले आजको गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ ।
एमसीसी बुधबारको संसद टेबल हुने भनिएको भएपनि प्रचण्डको आग्रह पछि शुक्रबारका लागि सारिएको थियो ।
एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरू विभाजित छन् । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ ।
तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।