काठमाडौँमा भेटियो शक्तिशाली बम

शुक्रबार, ६ फाल्गुन २०७८

काठमाडौं – काठमाडौंमा तीन वटा शक्तिशाली बम भेटिएको छ । भेटिएको बम विस्फोट हुन भने पाएन ।

काठमाडौँको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको थियो । शुक्रबार बिहानै तीनवटा कुकर बम फेला परेको र नेपालीसेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ ।

बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।

बम कसले र किन राख्यो भन्ने खुलेको छैन् । तर संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेलामा केही पार्टीहरुले यसको विरोध गरिरहेका छन् ।

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम राखेको होकी भनेर शंका गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज विप्लवसहितका ६ पार्टी र दुई वटा मोर्चाले संसद घेराउसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।