गठबन्धनका नेताहरुको बैठक सकिए, भयो यस्तो सहमति

शुक्रबार, ६ फाल्गुन २०७८

काठमाडौँ – सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सकिएको छ । आजको बैठक पनि निश्कर्ष विहिन सकिएको हो ।

तर आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भने भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकस्थल बालुवाटारबाट नेताहरू बाहिरिएका छन् ।

गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद् अवरोधलगायत विषयमा निकास निकाल्न बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए ।

उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’