माधव नेपाल पनि एमसीसी पास गर्न तयार, तर राखे एउटा शर्त
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् ।
तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।
‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने ।
बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ ।
‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।
यता नेकपा माओवादी केन्द्रले पनि सहमति विना एमसीसी पास गर्न नसकिने निर्णय गरिसकेको छ । सम्झौतामा भएका केही प्रावधानमा संशोधन नभएसम्म एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले जसरी पनि एमसीसी पास गर्ने निर्णय यसअघि नै गरिसकेको छ । नेकपा एमालेले भने अहिलेसम्म निर्णय गर्न सकेको छैन् ।
उता जनता समाजवादी पार्टीले कुनै पनि निर्णय गर्न सकेको छैन् । अध्यक्ष उपेन्द्र यादव पास गर्न नहुने पक्षमा छन् भने अर्का अध्यक्ष बाबुराम भट्टराई पास गर्ने पक्षमा छन् ।