भोलीनै एमसीसी पास गर्ने सरकारको तयारी, यसरी खुल्यो रहस्य

बुधबार, ११ फाल्गुन २०७८

काठमाडौं – सरकारले भोलीनै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पास गर्ने तयारी गरेको खुलेको छ ।

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएपछि यस्तो खुलासा भएको हो ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताइन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो । त्यसपछि संसद बैठक बिहीबार बस्न लागेको हो ।

प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौता भोलि छलफलमा लगिने कार्यातालिका सार्वजनिक भएको छ ।

भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ ।

सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।

८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।

यसरी हेर्दा सरकार भोली नै जसरी हुन्छ एमसीसी संसदबाट पास गरेरै छोड्ने तयारीमा रहेको बुझिन्छ ।