माधव नेपालका १० सांसदले एमसीसीका पक्षमा मतदान गर्ने (सांसदहरुको नामसहित)

बुधबार, ११ फाल्गुन २०७८

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका १० जना सांसदहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने भएका छन् ।

संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेसहित १० जना सांसदले एमसीसीको पक्षमा मतदान गर्ने भएका हुन् ।

गठबन्धनका अरु पार्टीहरुले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्ति–व्यक्ति भेट्दै फकाउन थालेका छन् । त्यसक्रममा देउवाले एकीकृत समाजवादीका नेता समेत रहेको आलेलाई फकाएका हुन् ।

सो क्रममा ९–१० जना मन्त्री आलेले पनि एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको श्रोतको दावि छ । पर्यटनमन्त्री आलेले केही मन्त्रीसहित एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने विश्वास दिएको बालुवाटार स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘नेकपा एकीकृत समाजवादीमा माधव नेपालभन्दा प्रेम आलेसँग सांसद बढी देखिन्छन् । प्रेम आलेसँग १० जना सांसद होल्ड छन् ।’

पर्यटनमन्त्री आलेले आफ्नो पार्टीबाट श्रममन्त्री किसान श्रेष्ठ, पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकीले एमसीसीको पक्षमा मत दिने विश्वास प्रधानमन्त्री देउवालाई दिलाएका छन् ।

गत असार ३ मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि एमालेमा ओली निकट उनीहरुले विश्वासको मत दिएका थिए ।

यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ ।

काँग्रेसका ती पदाधिकारीले भने, ‘यिनीहरुले प्रधानमन्त्रीलाई बचन दिएका छन् । त्यो हुँदा एमसीसी पास गर्न बहुमत पुग्छ । अहिलेको हिसाब किताब यही हो ।’

काँग्रेस नेताहरु अनुसार गठबन्धन भत्केको अवस्थामा माधव नेपालले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाए पनि आले फर्किने मुडमा छैनन् । आलेले प्रधानमन्त्री देउवाबाट पनि बर्खास्त नहुने गरी लबिङ गरिरहेको बालुवाटार स्रोतको भनाइ छ ।

बिहीबार एमसीसीबारे संसदमा सामान्य छलफल हुँदैछ । सोही छलफल पछि एमसीसीलाई मतदानका प्रक्रियामा लैजाने सरकारको तयारी छ ।