प्रतिनिधि सभाको बैठक स्थगित

बिहिबार, १२ फाल्गुन २०७८

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ। अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको थियो ।

बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।

सरकारले फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबल गरेको छ। उक्त प्रस्ताव ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो।

त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए।

यस्तै काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीको असहयोगलाई अराजकताको संज्ञा पनि दिएका छन्।

‘ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा उहाँको नैतिक जवाफदेहीता खोजिन्छ नै तर सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता,’ उनले ट्विटरमा लेखेका छन्, ‘कि भनौँ गठबन्धनमा छौँ, सरकारमा छैनौँ कि सरकारमा रहँदाको मर्यादा पालन गरौँ।’