यस्तो रहेछ संसद बैठक स्थगित हुनुको भित्री कारण
काठमाडौं – आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । यही फागुन ८ गते संसदमा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई छलफलका लागि अगाडि बडाउने कार्यासूची थियो ।
आजको बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु गराउने सरकारको तयारी थियो । प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने निर्णय भयो र संसद्को कार्यसूची बन्यो । तर, अन्तिम समयमा बैठक स्थगित गरियो । प्रतिनिधिसभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ ।
अन्तिम समयमा आएर बैठक किन स्थगन भयो त ? कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्ण आफूहरू पनि अचम्म परेको बताउँछन् ।
समितिको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सहमति जुटेको उनको भनाइ छ । सहमतिअनुसार छलफलका लागि एकजना सांसदलाई पाँच मिनेटको समय दिने तय भएको थियो ।
“कार्यव्यवस्था परामर्शको बैठकमा आजबाट सामान्य सैद्धान्तिक छलफल सुरु गर्ने, बोल्न चाहने सांसदलाई पाँच मिनेटको समय दिने भन्ने कुरा भएको थियो । त्यसपछि सरकारसँग के कुरा भयो थाहा भएन,” उनले बाह्रखरीसित भने ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तासाझेदार दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतकले संसद् अवरोध हटाएपछि मात्रै छलफल गर्दा उचित हुने धारणा राखेको पनि उनले बताए ।
“समितिको बैठकमा सहमति जुटेको हो । तर, किन बैठक स्थगित भयो थाहा भएन,” उनले भने । बिहीबार बिहानै सत्ता गठबन्धनमा आबद्ध तर एमसीसीको विपक्षमा रहेका दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए ।
बैठकमा माओवादीका तर्फबाट देव गुरुङ, नारायणकाजी तथा एकीकृत समाजवादीका तर्फबाट झलनाथ खनाललगायत नेताहरू पनि सहभागी थिए । बैठकमा सहभागी माओवादी नेता देव गुरुङका अनुसार उक्त छलफलमा एमसीसीको पक्षमा उभिन नसक्ने बारेमा नेताहरूबीच कुराकानी भएको थियो ।
बैठकलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रचण्डले एमसीसी सम्झौताको पक्षमा उभिन नसक्ने बताएका थिए । लगत्तै देउवाले कि त एमसीसी अनुमोदन गराउन सहयोग गर्न नभए सत्ता छाड्न भनेका थिए ।
जवाफमा प्रचण्डले ‘सरकार नछाड्ने बरु सके निकाल्नुहोस्’ भनेका थिए । देउवाले पनि ‘एमसीसी अनुमोदन गरेर छाड्छु’ भनेको स्रोतको दाबी छ । “यो आज बिहान मात्र भनेको होइन, अघिल्लो भेटमा पनि प्रधानमन्त्रीज्यूले यसरी नै आफ्नो कुरा राख्नुभएको हो । तर, उनीहरूलाई सत्ता पनि चाहिएको छ, सरकारलाई पनि सहयोग नगर्ने भन्छन् । यस्तो मिल्दैन,” स्रोतले भन्यो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत कार्यसूची तयार पारेपछि किन बैठक रोक्नुपरेको त भन्ने बाह्रखरीको प्रश्नमा ती सांसदले एमसीसी सम्झौता अनुमोदन गराउने तयारीस्वरूप बैठक स्थगन भएको बताए ।
“एउटा बैठक स्थगन गर्दैमा गठबन्धनको बोज बिसाउनुपर्छ भने किन नगर्ने रु यिनीहरूको भारी हामीले किन बोक्नु सधैँ ?,” ती सांसदले भने । संसद् बैठक स्थगन गरेर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग संवाद सुरु गरेका छन् । देउवाको दाउ गठबन्धनले साथ नदिपछि एमालेलाई फकाएर भए पनि एमसीसी अनुमोदन गर्नेछ ।
तर, एमाले सांसद योगेश भट्टराई भने प्रधानमन्त्रीले आफूहरूलाई ‘ब्ल्यांक चेक’ देखाएको तर आफूहरू त्यसमा सहमत नहुने बताउँछन् । सत्ताघटक माओवादी केन्द्रले पनि एमसीसीमा सरकार अल्पमतमा परेपछि समर्थन खोज्न संसद् बैठक स्थगन गरिएको निष्कर्ष निकालेको छ ।
“एमसीसीमा सैद्धान्तिक छलफलमै कांग्रेस अल्पमतमा पर्ने भएपछि प्रतिपक्ष दलसँग समर्थन माग्दै सर्त पूरा गर्न समय आवश्यक परेकाले बैठक स्थगन गर्नुपरेको हो,” माओवादी स्रोतको भनाइ छ ।