यी हुन् एमसीसीको पक्षमा खुलेका जसपाका ९ सांसद (नामावलीसहित)

शुक्रबार, १३ फाल्गुन २०७८

काठमाडौँ – जनता समाजवादी पार्टीका ९ जना सांसद एमसीसीको पक्षमा खुलेका छन् । १९ सांसद रहेको जसपाका ९ जना सांसद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा खुलेका हुन् ।

जसपाका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईलाई ९ जना सांसदहरूले हस्ताक्षर गरेर बुझाइसकेका छन् । त्यसैगरी ४ जना सांसदहरूले पक्षमा मतदान गर्ने भनेर भट्टराईलाई आश्वासन दिएका छन्।

त्यसै गरी ६ जना सांसदहरू विपक्षमा देखिएका छन्। जसपाका एक सांसदले दिएको जानकारी अनुसार ७ जना सांसद मात्र एमसीसीको विपक्षमा छन्।

बाबुराम भट्टराई, महिन्द्र प्रसाद राय, इस्तियाक राई, डा. सुरेन्द्र यादव, प्रदिप यादव, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाजले एमसीसीको पक्षमा हस्ताक्षर गरेका छन्।

सांसदहरू राजकिशोर यादव, रेणु यादव, डा. सूर्यनारायण यादव, रेणुका गुरुङले भने पक्षमा मतदान गर्ने आश्वासन दिएको भए पनि हस्ताक्षर नै भने नगरेको जसपा स्रोतले बतायो।

त्यसै गरी उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ, प्रमोद साह, रामबाबु यादव, र लीला सिटौला मात्र एमसीसीको विपक्षमा छन्।

एमसीसीको पक्षमा हस्ताक्षर गरेर बुझाउने सांसद मध्ये केही भने एमसीसीको लागि मात्र हस्ताक्षर गरेको बताउँछन्।

‘अरु सांसदको त थाहा छैन, हामीले एमसीसीको लागि मात्र हस्ताक्षर गरेको हो,’ ती सांसदले भने,‘पार्टी विभाजनको अवस्था आए उक्त हस्ताक्षरलाई दुरुपयोग गर्न पाइन्न। एमसीसीको पक्षमा मात्र हस्ताक्षर गरेर दिएका छौं।’

३४ सदस्यीय कार्यकारिणी समितिमा १८ जना कार्यकारिणी समितिले पनि एमसीसीको पक्षमा हस्ताक्षर गरेर भट्टराईलाई बुझाएका छन्।

आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ। उक्त बैठकबाट जसपाले एमसीसी तथा वर्तमान गठबन्धन सहित अन्य नयाँ समीकरणको विषयमा समेत निर्णय गर्नेछ।

जसपा एकतावद्ध रहन्छ वा फुट्छ भन्ने कुराको निर्णय पनि अज बस्ने कार्यकारिणी समितिबाट हुने निर्णयले नै तय गर्ने उनले बताए।