देउवाले फेरी भेट्न खोजेका थिए, ओलीले मानेनन्
काठमाडौँ – शनिवार बेलुवा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीचको वार्ता भयो । निर्णायक भनिएको वार्ता विना निश्कर्ष टुंगिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा निरास भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो ।
उक्त संवादमा पनि दुई पार्टी निष्कर्षमा पुग्न नसकेको कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘नयाँ खबर सुनाउँला भन्ने आशा थियो तर, कुरा पुरानै अवस्थामा छ । हामीले प्रतिनिधि सभा सुचारु गरौं, एमसीसी अनुमोदनको दिशामा लैजाऔं भन्ने प्रस्ताव गर्यौं,’ कार्कीले भने, ‘उहाँहरूले हाम्रा लागि संसदको द्वार बन्द भएको छ । त्यो खुलाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।’
छलफलमा कांग्रेस नेताहरूले संसद जीवन्त बनाउने जिम्मेवारी प्रमुख प्रतिपक्षको पनि भएको भनेको कार्कीले बताए । ‘संसद खुलाउने तपाईंहरूको पनि दायित्व हो, परिस्थितिको मूल्यांकन गरेर अघि बढौँ भनेका छौं,’ कार्कीले भने ।
दुई पार्टीका नेताहरूले छलफल गरेर सहमति बन्ने अवस्थामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुने तय भएको थियो । तर, लामो समय छलफलमा बसेका दुई दलका नेताहरूबीच निष्कर्ष निस्कन नसक्दा प्रधानमन्त्री देउवा बालकोट गएनन् ।
कांग्रेस र एमालेबीच संवादलाई निरन्तरता दिने सहमति भने भएको कार्कीले बताए ।
‘बालुवाटारबाट अध्यक्ष ज्यूलाई टेलिफोन आएको थियो’ नेकपा एमालेका एक नेताले भने, ‘तर ठोस प्रस्तावविना भेटको कुनै अर्थ छैन भन्दै उहाँले भेटघाटलाई टार्नुभयो ।’
नेकपा एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई बर्खास्त गर्न पर्ने माग जोडतोडका साथ उठाएको छ । उक्त माग पुरा गर्न नसके सभामुखलाई हटाउन सहयोग गर्न पर्ने एमालेको अडान छ ।
एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले समयमै कारवाहीको सूचना टास नगर्दा नेकपा एमाले फुटेको निश्कर्ष निकालेको थियो ।