प्रहरी दमनबाट युवा सङ्गठन नेपालकी महासचिव विदुषीलगायत कयौँ घाइते

आइतबार, १५ फाल्गुन २०७८

काठमाडौँ –राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँको नयाँबानेश्वरमा जारी प्रदर्शनमाथि प्रहरीले क्रूर दमन गर्दा नेकपा निकट युवा सङ्गठन नेपालकी महासचिव सावित्री अधिकारी ‘विदुषी’ लगायत दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा युवा सङ्गठनका केन्द्रीय सदस्य अविनाश गिरी, नेकपा धनुषाका सदस्य रमेश विश्वकर्मा, अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सङ्गठनका सदस्य निशान बस्नेतलगायत कयौँ आन्दोलनकारी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जनाइएको छ ।

राष्ट्रघाती एमसीसीविरुद्ध देशभर प्रदर्शन जारी छ । काठमाडौँ नयाँबानेश्वर क्षेत्रमा १२ बजेदेखि नै लगातार प्रदर्शन र झडप जारी छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस, लाठी प्रहार गरी अत्यन्त क्रूरतापूर्वक दमन गरेको जानकारी घटनास्थलबाट रातो खबरकर्मीले दिएका छन् । पाँचदलीय गठबन्धन सरकारले एमसीसी पारित गराउने उद्देश्यले फागुन ८ गते सदनमा टेबुल गरेपछि देशभक्त र क्रान्तिकारी शक्तिले देशव्यापी आन्दोलन चर्काएका छन् ।

ष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गर्ने बहानामा राष्ट्रघाती एमसीसी पारित गर्ने निर्णय गरेपछि सडकमा चर्को प्रदर्शन र नाराबाजी भइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज विशाल प्रदर्शनसहित काठमाडौँमा संसद् भवन र देशैभर जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । आन्दोलनकारी दल र मोर्चाको हिजोको बैठकले आज र भोलिको विरोधसभाको कार्यक्रममा विकास गरी काठमाडौँलगायत देशभर विशाल प्रदर्शन र काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेराउ गर्ने निर्णय गरेको थियो । पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यमान सत्ता गठबन्धन फुटाएर एमाले अध्यक्ष केपी वलीसँग एमसीसी पारित गर्न नयाँ गठबन्धन बनाउन लागेका थिए । त्यसपछि प्रचण्ड र माधव नेपाल कथित व्याख्यात्मक घोषणा गरी एमसीसी पारित गर्न सहमत भएपछि क्रान्तिकारी शक्ति र देशभक्त जनताहरू मात्र होइन, माओवादी केन्द्र र एसका कार्यकर्ताहरु पनि पार्टी निर्णयका विरुद्ध सडकमा उत्रिन थालेका छन् । उनीहरूले माओवादी केन्द्र र एसले एमसीसी पारित गरेमा विद्रोह गर्ने चेतावनी पनि दिइरहेका छन् । कथंकदाचित एमसीसी पारत भएमा माओवादी केन्द्र, एस, एमालेलगायत पार्टीहरू पुनः विभाजित भएर देशभक्त क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण हुने जानकारहरू बताउँछन् ।