युक्रेनका राष्ट्रपतिले समय तोकेरै भने, ‘अब केही हुन्छ’
काठमाडौं – युक्रेनमाथि रुसले आक्रमण गर्न थालेको पाँचौँ दिन पुरा भएको छ । पाँचौं दिनसम्म आइपुग्दा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मित्र राष्ट्रहरुको सहयोग मागेका छन् ।
उनले २४ घण्टाभित्र रुसले राजधानी कब्जा गर्ने भन्दै विभिन्न देशहरुसँग सहयोग मागेका छन् ।
युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने उनको भनाई छ ।
जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् ।
सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो ।
तर वार्ताका लागि युक्रेन तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविकसहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।
पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् ।
युक्रेनमा रुसको आक्रमणमा परी हालसम्म ३५२ सर्वसाधारणको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा १४ जना बालबालिकासमेत छन् ।
त्यस्तै, १६ सय ८४ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।