कांग्रेसका आशालाग्दा महामन्त्रीद्धयले एकस्वरमा गरे यस्तो उद्घोष, स्थानिय देखि केन्द्रसम्मका कांग्रेसीहरु बने उत्साहित

आइतबार, २२ फाल्गुन २०७८

काठमाडौं– वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र युवाहरुको प्रतिनिधित्व बढ्दै गएपछि पछिल्लो समय देशभरका नेताकार्यकर्ताहरु खुसी छन् । १४ औंै महाधिवेशनबाट केन्द्रीय कमिटिमा नसोचेको हिसाबले युवाहरु आएपछि आशा झनै पलाएको हो ।

यसैबीच, नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले एक स्वरमा पार्टीमा भागबण्डा र गुटगत राजनीति समाप्तीतर्फ पार्टी अघि बढिसकेको उद्घोष गरेका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् ।

उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी एकढिक्का भएको र आगामी निर्वाचनका लागि कटिवद्ध हुनुले पार्टी एकजुट भएको सन्देश प्रवाह गरेको धारणा राखे ।

महामन्त्री थापाले महाधिवेशनपछि पार्टीलाई शत प्रतिशत विधिसंगत तरिकाले सञ्चालन गर्ने प्रयास भइहेको बताए । महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको र त्यसपछि पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्न सबै एक ठाउँमा भएको उनले दावी गरे ।

‘पार्टीमा सभापतिको हातलाई बलियो बनाउनुपर्छ । भागवण्डा हिजो जे चल्दै आयो त्यसलाई बन्द गराउनुपर्छ भनेर नै हामी एक ठाउँमा उभिएका छौं’ उनले भने ।

अर्का महामन्त्री शर्माले पार्टी सम्पूर्ण रुपमा एकतावद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर कांग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’ शर्माले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भए पनि एमसीसी पारित गर्न नसकेको भन्दै महामन्त्री शर्माले जनताको भरोसा कांग्रेसतिर रहेकाले अहिले पारित भएको दावी गरे ।

भ्रातृ तथा शुभेच्छुक संस्थामा भागवण्डा र गुटबन्दीको राजनीति नगर्न उनले सुझाए । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन विधानमा एकरुपता ल्याउन लागिएको महामन्त्री शर्माले बताए ।

अर्का महामन्त्री गगन थापाले भ्रातृ संस्थालाई स्वायत्त बनाउनुपर्ने भन्दै गुटबन्दी नगर्न सुझाव दिए । ‘निजामति कर्मचारीको अधिवेशनमा गुटबन्दी गर्न आउनेलाई ढोका बन्द गरिदिनुस्’ उनले भने, ‘सबै भ्रातृ संस्थालाई गुटबन्दी मुक्त बनाउन चाहिरहेका छौं । निजामति कर्मचारी युनियनलाई त झनै गुटबन्दी मुक्त बनाउन चाहन्छौं ।’

कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएका कारण अहिले कांग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरे । ‘हामीले सम्हाल्नुपर्नेछ ,सम्हाल्छौं । योपटक सानदार ढंगले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’ उनले भने ।

नेकपा एमालेले यसरी नै संसद अवरुद्ध गरिरह्यो भने शीघ्र निर्वाचनको विकल्प खुला रहेको पनि थापले बताए । उनले भने, ‘यस्तै गरिरहने भने सोच्नुपर्ने हुन सक्छ । त्यो बेला चुनाव अगाडि पनि हुनसक्छ ।’

संसद अवरोध नहटे पनि संघीय निजामति कर्मचारीसम्बन्धी विधेयक पास गर्ने थापाले बताए । निजामति कर्मचारीको मनोभावना अनुसार नै संघीय निजामति ऐन बन्ने महामन्त्री शर्माले बताए । ‘ट्रेड युनियन अधिकारसहितको संघीय निजामति ऐन बनाउन पार्टी कटिवद्ध छ । सरकारलाई घचघच्याउँछौं’ शर्माले भने ।