एमसीसी विरुद्ध ‘सशस्त्र युद्ध’को घोषणा
काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध नेपालमा सशस्त्र युद्धको घोषणा भएको छ । ‘हिमाल सुरक्षा परिषद नेपाल’ले ‘सशस्त्र युद्ध’को घोषणा गरेको हो ।
भूमिगत शैलीमा आतङक सिर्जना गरिरहेको सो समूहले एक विज्ञप्ती जारी गर्दै सशस्त्र युद्धको घोषणा गरेको जनाएको छ ।
उक्त समूहले विज्ञप्तिमार्फत एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग पनि गरेको छ।
यसअघि प्रहरीले यो समूहका धेरैजनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद् नेपालका गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं रहेका छन् ।
त्यस्तै, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल रहेका छन् ।
साथै, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाईलाई पनि पक्राउ गरेर प्रहरीले सार्वजानिक गरिसकेको छ।
अमेरिकी सहयोग परियोजना एमसीसी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीले पास गरेका थिए । ।
एमसीसी विरुद्ध ठूलो जनमत रहेकाले त्यसलाई संगठित गर्दै युद्ध सफल पार्ने रणनीति उक्त समूहको छ ।

