अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्दै यस्तो छ उनको तयारी

शुक्रबार, २७ फाल्गुन २०७८

सदावहारअभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् । राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको भन्दै नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताएकी छिन् ।
यसअघि डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय रहेकी मानन्धर अहिले नेकपा एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई एक कार्यक्रमसहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ ।
धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी मानन्धरले पार्टीले उम्मेदवारी बनाए आफू चुनावमा लड्नेसमेत घोषणा गरेकी छिन् ।

कुनै पार्टीमा आवद्ध भएपछि पार्टीलाई आफूले दिनुपर्ने योगदान सशक्त हुनुपर्ने र त्यो कुरामा आफू प्रष्ट रहेको भन्दै उनले कुन क्षेत्रबाट आयो भनेर पार्टीले मतलब नराख्ने योगदान कतिको दिन सक्छ भन्ने पार्टीले हेर्ने बताइन् ।

उनले आफू एमालेमा कुनै बार्गेनिङ हिसाबले प्रवेश गर्न लागेको नभई कुनै पनि पार्टीमा धेरै नेता, कार्यकता थुप्रै बर्षदेखि लागेका ब्यक्ति रहेका र सबै पक्ष मिलेर एउटा पार्टी निर्माण भएको हुने र एउटा नयाँ प्रवेश गर्ने बितिक्कै आफू यो क्षेत्रमा यस्तो थिए भनेर डिमान्ड गर्न पाउने नभएको बताइन् ।
आफूले कुनै पनि डिमान्ड नराखेको भन्दै उनले एमालेले आफ्नो क्षमताको पहिचान गरेर गहन जिम्मेवारी दिन्छ भन्ने विश्वास रहेको बताइन् ।

उनले पार्टीले आफ्नो तर्फबाट उमेद्वारको रुपमा अगाडि सार्यो भने पछि नहट्ने भन्दै उनले अहिले भने चुनावमा उठ्ने, नउठ्न निधो नभएको बताएकी छिन् ।केपी शर्मा ओलीको व्यक्तित्वबाट आफू धेरै प्रभावित रहेको भन्दै उनले राजनीतिमा लागेको मानिस सिरियस हुनुपर्ने र जेन्यून हुनुपर्छ भन्ने कुरो आफ्नो ठाउँमा रहेको बताइन् ।

ओली सबै कुरो बुझेको, व्यावहारिक, हरेक वर्ग, हरेक उमेर समूहका मानिससँग मिल्न सक्ने, हरेक विषयको ज्ञान राख्ने र कलाकारलाई पनि राम्रोसँग बुझेको ब्यक्तिको रुपमा आफूले बुझेको उनको भनाइ छ ।