नैतिकताका आधारमा प्रचण्डले राजीनामा दिने

आइतबार, २९ फाल्गुन २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र सहमति नजुटे आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताएका छन् ।

आइतबार पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले एमसीसीबारेको व्याख्यात्मक घोषणा उचित सम्मानसहित कार्यान्वयन नभए फेरि आन्दोलन हुने बताएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने दावी गरे ।

एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र सहमति नजुटे आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताएका छन् ।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।

त्यसैगरी एमसीसी पास भए पछि पार्टी छाडेका नेताहरुप्रति पनि प्रचण्डले टिप्पणी गरेका छन् ।

एमसीसी पास गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको समेत उनले बताए ।

उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’

‘संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’ उनले भने ।