राष्ट्रिय वाणिज्य बैंकको त यस्तो छ धन्दा, अरुको त के कुरा गर्नु ?
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले समेत नक्कली काम गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यस्तो रहस्य खुलेको हो ।
बैंकले विभिन्न ठाउँमा पेश गर्नका लागि विभिन्न निर्माण व्यवसायीलाई नक्कली बैंक ग्यारेन्टी दिएको मुद्धाको फेहरिस्तमा उल्लेख छ । सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभीले पेश गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ ।
मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ ।
नक्कली कागजात बनाउने प्रबन्धक चौधरी विरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर अनुसार मागदाबी गरिएको छ ।
सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाही विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।