पूर्वराजा ज्ञानेन्द्रको घरमा किन गए ओली ?

शुक्रबार, ११ चैत्र २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रको घरमा पुगेको खुलासा भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई झापामा हराउन सक्ने भन्दै आफूलाई बाधा हुने काम नगर्न भन्दै ज्ञानेन्द्र निवास पुगेका हुन् ।

यो कुरा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खुलासा गरेका हुन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने नेपालले खुलासा गरेका हुन् ।

आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने, ‘पहिले तपाईंहरु आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गरेर, आफ्नो हैसियत कायम राखेर अघि बढ्नुस् । आफ्नो हैसियत नभएकालाई कसैले पत्याउँदैनन् ।’

उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरे ।

अब कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफूहरुले कुरेको नेता नेपालले बताए ।