छानविनको दायरामा एमाले नेताहरु
काठमाडौं – नेकपा एमालेका नेताहरु छानविनको दायरामा तानिएका छन् । शनिबार जनता समाजवादी पार्टीका नेता प्रमोद शाहमाथि आक्रमण गर्ने एमालेका नेताहरु छानविनको दायरामा तानिएका हु्न् ।
संसदीय दलका प्रमुख सचेतकसमेत रहेका साहमाथि एमालेका नेताहरुले आक्रमण गरेका थिए । सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ ।
जसपाले विज्ञप्ति निकालेर भनेके छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’
घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकारसँग माग पनि गरेको छ । यस्तै घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि जसपाले भनेको छ । घाइते साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।
यस्तै यता गृहमन्त्री बालकृष्ण खाणले शाहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । उनले एमाले नेताले अथवा जोसुकैले घटना घटाए पनि त्यसमाथि छानविन गरी कडा कारवाहीका लागि निर्देशन दिइसकेका छन् ।
शनिवार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन् । ‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ ।’
गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । यसैबीच गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् । फायल तस्विर