जसपाले कांग्रेस–माओवादीसँग चुनावि तालमेल नगर्ने
बुटवल – जनता समाजवादी पार्टी ५ दलिय गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनबाट बाहिरिने संकेत गरेका हुन् ।
उले गठबन्धनमा आवद्ध दलहरुबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने बताएर कांग्रेस–माओवादीको चुनावि गठबन्धनमा सहभागी नहुने संकेत गरेका हुन् ।
रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताएका हुन् ।
‘संविधान र व्यवस्था बचाउन गठबन्धन गरेका हौं, सम्मानजनक सिट दिए मानिन्छ, बेइमानी, हेप्ने र चेप्ने काम भयो भने विकल्प सोच्छौं,’ भट्टराईले भने, ‘हाम्रो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी हो, २०७४ सालको मतको कुरा स्वीकार्य हुन्न ।’