मासुमात्रै काटेको भए हुन्थ्यो नी, अरु पनि काट्न थालेपछि…

आइतबार, ४ बैशाख २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी कास्कीले १२ औँ केन्द्रीय समिति बैठकको निर्णय नमान्ने नेताहरुलाई कारवाही गरेको छ । बैठकले लिएका दुर्गामी निर्णय र नीतिका विरुद्धमा पार्टी र नेतृत्व विरुद्ध भ्रम फैल्याएको भन्दै नेकपा कास्कीले कांस्की जिल्लाका विशेष कमिटी सदस्य गोकुल पराजुली (धुर्ब) सहित तीन जनालाई कारवाही गरेको हो ।

नेकपा केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु)द्वारा जारी विज्ञप्तिमा पराजुलीसहित बद्री अधिकारी र रमेश वास्तोलालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जनाइएको छ ।

‘पार्टीको हालै सम्पन्न आठौं केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले लिएका दुरगामी निर्णय तथा नीतिको विरुद्धमा पार्टी र पार्टी नेतृत्वको विरुद्ध भ्रम फैलाउदै समानान्तर गतिविधि गर्न प्रयास गर्ने, अन्तरध्वंशको षड्यन्त्र गर्ने, पार्टी नीतिलाई सहि ढङ्गबाट लागु नगर्ने, गुटबन्दी गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी कान्तिविरोधी शक्तिलाई मलजल गर्ने जस्ता पार्टी विरोधी गतिविधिहरू कास्की जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीको नेतृत्वमा मिति २०७९ वैशाख ०३ मा बसेको भनिएको बैठकवाट पुष्टि हुन आएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले पार्टी अनुशासनको गम्भिर प्रकारले उल्लङ्घन हुन पुगेको छ । जुन गतिविधिले पार्टीको आठौं महाधिवेशनवाट पारित विधानको पार्टी सदस्यले गल्ती गर्दा गरिने कारवाही सम्बन्धी धारा १४ को उपधारा (घ) को १ आकर्षित गर्दछ ।’

‘अन्तरध्वंशको षड्यन्त्र गर्दै पार्टी अनुशासनको विरुद्धमा हिँड्ने गोकुल पराजुली लगायत बद्री अधिकारी र रमेश वास्तोलालाई उल्लेखित धारा बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको यही प्रेस विज्ञप्ति मार्फत जानाकारी गराउँदछौं । पार्टीको आधिकारिक प्रतिवेदन र सर्कुलर भन्दा बाहिर कुनै पनि भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्ती र जनसमुदायमा अपिल गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ ।’

कार्वाहीमा परेको तीनै जना सचिवालय सदस्य हेमन्तप्रकाश ओली “सुदर्शन” निकटका हुन् । समानान्तर कमिटी गठनको नेतृत्व पूर्वजिल्ला सचिव गोकुल पराजुलीले गरेका थिए । पार्टी गतिविधिबाट बाहिर रहेका पराजुली मासु पसल सन्चालन गर्दै आएका थिए ।

पार्टी कामको सिलसिलामा आबश्यक पर्दा सम्पर्कमा नआउने समस्या भएपछि १२ औं केन्द्रीय समिति बैठकले उनलाई हटाएर कार्जी गुरुङलाई ल्याएको थियो । त्यसपछि पार्टी विरुद्धको गतिविधिमा उनको संलग्नता पाइएपछि उनलाई कारवाही गरिएको बुझिएको छ ।

मासु काट्नमा व्यस्त रहेका उनले नेताहरुका कुरा पनि काट्न थालेपछि एक्सन लिएको नेकपाभित्र चर्चा चल्ने गरेको छ ।