सत्ता गठबन्धन बैठक : ‘हात्ती छिर्यो फुच्छर अड्कियो’
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक विना निश्कर्ष टुङ्गीएको छ । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनको चुनावी तालमेल गर्न बसेको बैठक विना निश्कर्ष टुंगिएको हो ।
५ वटा महानगरपालिकामा सहमति भएको छ भने बाँकी पोखरा महानगरपालिकामा गएर कुरा अड्किएको छ । सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको छ । नेताहरुका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने लगभग सहमति भएको छ ।
भरतपुरको मेयर माओवादी केन्द्र र वीरगञ्जको मेयर जनता समाजवादी पार्टीले पाउने छ । पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुबैको दाबी छ । ‘६ वटा महानगरमा होमवर्क भएको थियो । तर पोखरामा कांग्रेसको पनि दाबी रहने, एकीकृत समाजववादीको पनि दाबी रह्यो । दुबैलाई पोखरा नभए आकास नै खस्ने भयो’ एक नेता भन्छन्, ‘पोखराको अडानले अरु पनि स्थगित रह्यो ।’
गठबन्धन हुने नहुने पोखराको भागवण्डामा निर्भर हुने देखिएको नेताहरु बताउँछन् । ‘स्थानीयको रिपोर्ट एमाले बलियो छ, एकीकृत समाजवादीले धेरै भोट काट्दैन भन्ने छ । दोस्रो पार्टी पनि भएकाले आफ्नो दाबी स्वभाविक भएको कांग्रेस नेताहरुको तर्क छ,’ एक नेता भन्छन्, ‘एकीकृत समाजवादीका नेताहरुले हामी एमालेबाट फुटेको हो, हामीले जित्छौं भन्ने दाबी रह्यो ।’