सितल निवास पुगे विप्लव !
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेताहरु राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय सितल निवास पुगेको खुलासा भएको छ । नेकपाका नेताहरुले राष्ट्रपति भण्डारीसँग गोप्य भेटघाट गर्दै स्थानीय तहको निर्वाचन सार्न आग्रह गरेको बुझिएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा भाग लिने वातावरण बनाउन आग्रह गर्दै विप्लवका नेताहरुले राष्ट्रपतिदेखि निर्वाचन आयोगको हुँदै एमाले अध्यक्ष केपी ओलीसम्मलाई भेटघाट गरिरहेको बताएका हुन् ।
नेकपालाई देखाएर सत्तारुढ गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको एमालेका नेताहरुको आरोप खण्डन गर्दै उन चुनाव कुनै पनि हालतमा नसर्ने ठोकुवा गरे । ‘विप्लवहरुले राष्ट्रपतिसँग भेटेको हाम्लाई थाहा छ । निर्वाचन आयोगमा गएर भेटेको पनि हाम्लाई थाहा छ । बालकोट गएर केपी ओलीलाई भेटेको पनि थाहा छ’,प्रचण्डले भने, ‘चुनाव सार्दिनुपर्यो भनेर उहाँहरुले भन्दै गर्दा हामी देशभरि चुनावी अभियानमा हिँडिराखेका छौँ । त्यसकारण उहाँहरुलाई देखाएर चुनाव रोक्ने होइन, उहाँहरुलाई पनि चुनावमा आउन सकारात्मक वातावरण कसरी बनाउने भन्ने मात्रै हो, कसैलाई भ्रम नहोस् ।’
तत्कालीन प्रधानमन्त्री केपी ओली र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्यवन गरेर उनीहरुलाई चुनावमा ल्याउने परिस्थिति बनाउन आफूहरु गम्भीर रहेको पनि प्रचण्डको भनाइ छ । त्यसबारे छलफल चलिरहेको र सकारात्मक ढंगले कुराकानी भैरहेको पनि उनले बताए ।
‘विप्लवजीहरु चुनावमा आउने भनेर सबैसंग भेटघाट पनि गर्नुभयो र सबैसंग कुराकानी पनि भैराखेको छ । केपी ओली र विप्लवहरुको बिचमा तीन बुँदे सहमति जो भएको थियो त्यसलाई हामीले सकारात्मक भनेर त्यतिबेला नै भनेर समर्थन गरेका थियौँ’, प्रचण्डले भने, ‘अहिले पनि उहाँहरु निर्वाचनमा आउन चाहेको हुनाले सकेसम्म सबैले मिलेर सकारात्मक वातावरण बनाउनुपर्छ भन्ने हाम्रो नीति छ । समझदारी पनि छ ।’