महिलाहरुको अगाडी हामी पुरूषहरुले केहि लछारपाटो लाउन सक्दैनौ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूले नेतृत्व गरेका ठाउँ सफल भएको बताएका छन् ।
उनले पुरूष नेतृत्व भएका ठाउँमा खासै काम नभएको पनि बताए। उनले भने, ‘पुरूषहरूले धेरै राज गर्यौं तर लछारपाटो लगाउन सकेनौं।’
महिलाहरू कार्यकारी प्रमुख भएका ठाउँमा राम्रो काम भएको छ। तर कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको नेतृत्व क्षमतालाई अपमान गर्ने काम पनि भएको छ,’ आज काठमाडौंमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।’
सत्तागठबन्धनबाट काठमाडौं महानगरमा कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मदेवार छिन् । त्यसतर्फ लक्षित गर्दै प्रचण्डले यसपालि महिलाको नेतृत्व हेर्न पनि आग्रह गरेका छन्।
उनले सहमतिमै छ महानगरमा उम्मदेवार चयन गरिएको बताए। ‘गठबन्धनलाई धेरै परसम्म लैजानुछ,’ उनले भने, ‘केही ठाउँमा प्रतिस्पर्धा पनि भएका छन्।’
उनले कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था गर्न नहुने बताए। ३० वर्ष कांग्रेस(कम्युनिष्ट पानी बाराबार गर्दा जनताले केही पनि नपाएको उनको भनाइ थियो।
‘गठबन्धन धेरै परसम्म जान्छ,’ उनले भने, ‘काठमाडौं महानगर नयाँ बनाउन सकिन्छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाप्रति आलोचना गरेका थिए। ‘नायक भनेको त खलनायक पो हुनुभयो,’ उनले भने, ‘बढो नमीठो संघर्ष गरियो। पार्टी एकतापछिकै दुई सातामा ओलीले विश्वासघात गर्न थाल्नुभयो।’