काठमाडौंका पाँचै वडामा एमालेले जित्दा, स्थापितले पाएनन् आधा पनि मत
काठमाडौं – काठमाडौं महानगरपालिकाका मतगणना सकिएका पाँच वटै वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले जितेका छन्। यता केशव स्थापितले भने कुल मतको आधा पनि पाएका छैनन् ।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मतगणनामा पाँच वटा वडाको मतगणना सकिएको छ।
कार्यालयले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकाएको हो। यी सबै वडामा नेकपा एमालेका उम्मेदवारहरूले जितेका हुन्।
वडा नम्बर १ मा ६२२ मत पाएर भरतलाल श्रेष्ठ, वडा नम्बर २ मा १३७७ मत पाएर राजेन्द्रकुमार श्रेष्ठ, वडा नम्बर ३ मा २१३८ मत पाएर प्रेम थापा, वडा नम्बर ४ मा ४६०४ मत पाएर दिनेश महर्जन र वडा नम्बर ५ मा १८१८ मत पाएर विरेन्द्र प्रजापति निर्वाचित भएका हुन्।
निर्वाचित भएका वडाध्यक्षहरूले कूल १० हजार ५५५ मत पाएका छन्। एमाले वडाध्यक्षहरूले १० हजार बढी मत पाउँदा त्यही पार्टीका मेयर उम्मेदवार केशव स्थापितले आधामात्रै मत पाए।
मतगणना सकिएका पाँच वटै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। स्थापित दोस्रो स्थानमा छन्।
शाहले वडा १ मा ७८३, वडा २ मा १२१५, वडा ३ मा २४०६, वडा ४ मा ३९५६ र वडा ५ मा १५०१ मत पाएका छन्।
स्थापितले वडा १ मा ३६५, वडा २ मा ७२८, वडा ३ मा १२०३, वडा ४ मा १९२४ र वडा ५ मा १०६६ मत पाए।
यी वडाबाट शाहले कूल ९८६१ मत पाए। यता स्थापितले भने जम्मा ५२८६ मत ल्याए।
अहिले राष्ट्रिय सभा गृहमा वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।
१२ वटै वडाहरूका ५६ हजार ४० मत गणना गर्दा बालेन शाहले २१ हजार ८१५ मत पाएका छन्।
यता केशव स्थापितले भने ११ हजार १२४ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर १० हजार ६९१ छ। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १०३४१ मत पाएकी छन्।
शाह र सिंहबीच ११४१४ मतान्तर छ।