दर्ता भएको चार महिनामै पहिलो बन्यो रेशम चौधरीको पार्टी

आइतबार, ८ जेष्ठ २०७९

काठमाडौं – पार्टी दर्ता भएको चार महिना पुग्न नपाउँदै नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल बनेको छ । निलम्बित सांसद रेशम चौधरीको पहलमा स्थापना भएको पार्टीले जिल्लामा बहुमत ल्याएको हो ।

चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो ।

पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् । ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएपछि उनी जेल चलान भएका हुन् ।

जेलमै रहेर समर्थकहरूलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दलहरूलाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीत तहमा निर्वाचन जितेको छ । कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो ।

कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्की चुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ ।

आयोगका अनुसा माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन् । धनगढी उपमहानगरपालिका भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् ।