विश्वप्रकाश शर्माले ‘जोसमा होस् गुमाउँदा’ एमाले मालामाल
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पदको दुरुपयोग गर्दा एमालेलाई फाइदा भएको छ । शर्माले आफ्नो गृहनगर झापाको मेचीनगर नगरपालिकामा आफू निकटका व्यक्तिलाई टिकट दिलाउन पदको दुरुपयोग गरेपछि एमाले मालामाल भएको हो ।
प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै शर्माले नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा आफू निकटका इन्द्रबहादुर बुढाथोकीलाई टिकट दिलाएका थिए । त्यही कारण मेचिनगरमा कांग्रेस पराजित भएको हो ।
इन्द्रबहादुर बुढाथोकी नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीसँग पराजित भएका हुन् । उनले २१ हजार ३११ मत ल्याउँदा एमाले उम्मेदवारले २६ हजार ४७८ मत प्राप्त गरे ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका थिए । नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि महामन्त्री शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको थियो ।
यसैगरी उपप्रमुख पदमा पनि एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे।
नगरका वडामा पनि एमाले दुईतिहाई बहुमत ल्याएको छ । १५ वडा रहेको नगरपालिकामा १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा काँग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ । जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ ।
महामन्त्री शर्मा गृहनगर वडामा पनि काँग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको मेचीनगर ९ को अध्यक्षमा एमालेका कञ्चन कुमार तामाङ विजयी भएका छन् । उनले काँग्रेसका टेकेन्द्र वानियालाई पराजित गरेका थिए ।