उपेन्द्र यादव बल्ल बिउझिए मस्त निन्द्राबाट, अब सकिन्न भन्दै थाले महन्थलाई मसार्न
काठमाडौँ – स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बल्ल मस्त निन्द्राबाट बिउझिएको छ । फुटले गर्दा आफ्नो पार्टी मधेशमै अत्यन्त कमजोर देखिएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच पुनः गठबन्धन तथा एकताका लागि महन्तलाई मसार्न थालेका हुन् ।
जनता समाजवादीको पकड रहेको मधेसमै निर्वाचनमा पछारिएपछि उनले एकताका लागि भन्दै यस्तो पहल थालिएको बुझिएको छ ।
१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।
विगतको चुनावमा तत्कालीन राजपा ९अहिलेको लोसपा० ले स्थानीय तहमा २५ पालिका जितेको थियो भने तत्कालीन संघीय समाजवादी फोरम नेपाल ९अहिलेको जसपा० ले २७ पालिका जितेको थियो । यसपटक पनि जसपाले २७ पालिका र लोसपाले १६ पालिका जितेका छन् ।
दुवै दलको बीचमा एकता कायम रहेको भए वा चुनावी तालमेल भएको भए योभन्दा राम्रो नतिजा आउन सक्थ्यो भन्नेमा दुवै दलका नेता सहमत छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि स्थानीय तह निर्वाचनमा जसपा नेपाल र लोसपा नेपाल मिलेर गएको भए विगतको भन्दा राम्रो नतिजा आउँथ्यो भनेका छन् । उनले विगतमा भएको कमी कमजोरीलाई सच्याएर आएमा आफूहरु गला मिलाउन तयार रहेको र त्यो समयको पनि माग रहेको बताएका छन् ।
राजनीतिमा उतार चढाव भइरहने भन्दै उनले मिलेर अगाडि बढ्न लोसपालाई आग्रह गरेका छन् ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले पनि स्थानीय तहको चुनावमा हासिल गरेको परिणामले दुवै दललाई सोच्न बाध्य बनाएको बताए । ‘दुवै दलका नेताहरुले महसुस गर्न थालेका छन् कि चुनावमा दुवै दल मिलेर जानु पर्थ्यो,’ उनले भने, ‘अहिले दलका नेताहरुले महसुस गर्न थालेका छन्, यसबारे पक्कै पनि अगामी दिनमा यसको विषयमा दुवै दलको बीचमा कुरा हुन्छ ।’
उनले पनि जसपा विभाजनको समीक्षा हुनुपर्ने बताए । ‘उपेन्द्र यादवले समीक्षा गर्नुपर्छ कि कहाँ कहाँ गल्ती भयो,’ उनले भने, ‘कसको कारणले पार्टी विभाजन भयो, प्रदेश सरकार कसको कारणले टुट्यो, केन्द्रमा किन विभाजन आयो, यी सबै कुराको समीक्षा गरेर अगामी चुनावका लागि गठबन्धन गर्न सकिन्छ ।’
सोनलका अनुसार अब जसपा र लोसपाबीच एकता हुँदैन तर मोर्चा बनाएर सहकार्य भने गर्न सकिन्छ । ‘एकता गरेर हामीले हेरिसक्यौं, अब यो सम्भव पनि छैन,’ उनले भने, ‘मोर्चा वा गठबन्धन बनाएर साथ साथ गयो भने देशको एउटा वैकल्पिक शक्ति बन्न सक्छ ।’
२०७४ को चुनावमा दुवै दलबीच चुनावी गठबन्धन भएका कारण संघ र प्रदेश दुवै ठाउँमा बलियो भएको बताउँदै उनले पार्टी एकता भएपछि भने सबै भताभुङ्ग भएको बताए । त्यसैले एकता होइन, गठबन्धनमा आफूहरुको जोड रहने उनको भनाइ छ ।
लोसपाका अर्का नेता राजीव झाले मधेस प्रदेशका धेरै ठाउँमा लोसपा र जसपा बीचको प्रतिस्पर्धाका कारण काँग्रेस, एमाले, माओवादी केन्द्र बलियो भएको बताए । ‘जसपा र लोसपामात्र एक अर्काको मित्र शक्ति हो, यसलाई नकार्न सकिँदैन,’ उनले भने, ‘दुवै दल मिलेमा आगामी चुनावमा एक्लैले ६० देखि ८० सिट जित्न सकिन्छ ।’
उपेन्द्र यादव र महन्थ ठाकुरले आआफ्नो हठ र इगो त्यागेर मिल्नुपर्ने उनको भनाइ छ ।
सोही पार्टी अर्का नेता सन्तोष मेहताले पनि विगतमा भएको गल्तीको समीक्षा गरेमात्र एकता वा गठबन्धन गर्न सकिने बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक पटक आफूहरुलाई धोका दिएका कारण अब एकता वा गठबन्धन गर्दा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।