सबै राजनीति दलहरुहरुलाई धक्का लाग्नेगरी धनगढीका मेयरले गरे ‘बोल्ड डिसिजन’

शनिबार, १४ जेष्ठ २०७९

काठमाडौं – सबै राजनीतिक दलहरुलाई धक्का लाग्नेगरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बोल्ड निर्णय लिएका छन् । हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।

उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे सम्मलाई छुट्याइएको छ।’

त्यस्तै, उनले उद्घाटन तथा स्वागत सम्मानजस्ता काममा आफूलाई नअल्झाउन पनि आग्रह गरेका छन् ।

‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’ उनले फेसबुकमा लेखेका छन्, ।

स्वतन्त्र उम्मेदवार हमालले भारी मतान्तरका साथ सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गरेका थिए । मानसम्मान अपुग हुँदा प्रतिशोध राज्ने राजनीतिक दलहरुका लागि यो गतिलो झापड हो ।

अब सभा समारोह, सेमिनार, गोष्ठीमा हमालको उपस्थिति हुने छैन । उनको उपस्थिति नहुँदा नगरस्तरिय सभासम्मेलन, सेमिनार र गोष्ठी हुने छैनन् । सभा समारोह, गोष्ठी सेमिनारबाट भत्ता खान पल्केका दलका कार्यकर्ताहरुलाई यसले ठूलो धक्का लागेको छ ।