पहिलो दिनमै बालेनको पेलानमा उपमेयर डंगोल

मंगलबार, १७ जेष्ठ २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सोमबार नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरे । लगत्तै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो । उक्त बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।

उक्त बैठकमा मेयर, कार्यकारी अधिकृत र वडाध्यक्षहरु बोलीसक्दा पनि उपमेयर सुनिता डंगोलको पालो आएन । पहिलो बैठकमा नै मेयरले उपमेयरलाई वास्ता गरेनन् । राजनीतिक भाषामा भन्दा उपमेयर पेलानमा परिन् ।

कार्यपालिका बैठक सुरू भएको दुई घन्टा बितिसक्दा पनि उपमेयर सुनीता डंगोलले बोल्न पाएकी थिइनन्।बैठक समापनमै पुगेपछि उनले प्रमुख प्रशासकीय अधिकृत पौड्यालसँग कानेखुसी गरिन्। पौड्यालले मेयर शाहसँग कानेखुसी गरे। त्यसपछि बल्ल मेयर शाहले उपमेयर डंगोललाई बोल्न समय दिए।

उनले बैठकको एजेन्डाबारे पूर्वजानकारी दिइयो भने छलफल गर्न सहज हुने बताएकी थिइन्। ‘आजको पहिलो बैठक परिचयात्मक हो। त्यही भएर एजेन्डामा पूर्वजानकारी भएन। एजेन्डा घरमा पढेर आउन पाएको भए अझै सजिलो हुन्थ्यो होला,’ उनले भनिन्, ‘आगामी दिनमा जब मिटिङ डाकिन्छ तब एजेन्डा पनि सँगसँगै राखे हामी सबैले पढेर आउन पाउँछौं र मिटिङमा बृहत छलफल हुन्छ।’

उनले अगाडि भनिन्, ‘एजेन्डा कार्यान्वयन गर्न एउटा मान्छेसँग भएको आइडियाबाहेक अरू थुप्रै आइडिया हुन सक्छन्। संसारमा कति राम्रा राम्रा काम भएका छन्। त्यो अध्ययन गरेर हामी मिटिङमा बस्यौं भने निष्कर्षमा पुग्न सकिन्छ। मिटिङ मिटिङ मात्र हुँदैन।’

‘म यहाँहरू सबैको आवाज बनेर बोल्दैछु,’ उपमेयर डंगोलले कार्यपालिका बैठकमा भनिन्, ‘मिटिङको एजेन्डा पहिल्यै उपलब्ध गराएर अग्रिम छलफल भयो भने सहज हुन्छ। सबैले सल्लाह गर्दा यो एजेन्डा मेरो वा तिम्रो होइन, हाम्रो हो भन्ने हुन्छ। यसले टिम वर्क हुन्छ।’

उनले यो पनि भनिन्, ‘हामी यहाँ कुनै व्यक्तिलाई सफल बनाउन आएका छैनौं, काठमाडौं महानगरलाई सफल बनाउन आएका छौं। महानगर सफल भयो भने हामी सबै सफल हुन्छौं। हामीले सहकार्य, सहमति र सहअस्तित्वका साथ काम गर्नुपर्छ। त्यसो गर्‍यौं भने आगामी मिटिङहरू अझै उपलब्धिमूलक हुने छन्।’

मेयर बालेन शाहले बैठकको एजेन्डाका रूपमा छवटा प्रस्ताव पढेर सुनाएका थिए। बैठकको आखिरीमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले थप एउटा प्रस्तावसहित सातैवटा पास भएको उद्घोष गरेपछि होहल्ला भएको थियो। वडाध्यक्षहरूले कार्यपालिकामा विधि मिचेर प्रस्ताव पास गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए।

वडाध्यक्षहरूको आपत्तिपछि प्रमुख प्रशासकीय अधिकृत पौड्यालले आफ्नो भनाइ फिर्ता लिए। त्यसपछि मेयर शाहले सबै प्रस्ताव एक–एक गरेर फेरि पढे र वडाध्यक्षहरूले टेबल ठटाउँदै सहमतिको मोहर लगाए।

निर्धारित एजेन्डाभन्दा बाहिर रहेर ल्याइएको सातौं प्रस्तावमा भने मेयर शाहले थप कुरा प्रस्ट पारेपछि वडाध्यक्षहरू पास गर्न राजी भए। काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले पास गरेका सात प्रस्ताव के–के हुन् त ?

पहिलो प्रस्ताव नवनिर्वाचित पदाधिकारीहरूको परिचय आदानप्रदानसँग सम्बन्धित थियो भने दोस्रो प्रस्तावमा काठमाडौंका मतदाताहरूलाई धन्यवाद दिनु थियो। तेस्रो बुँदादेखि महानगरले पहिलो चरणमा कार्यान्वयन गर्न खोजेका कार्यक्रम परेका छन्। फोहोरमैला व्यवस्थापन सबभन्दा अगाडि छ।

काठमाडौंबाट हरेक दिन उठ्ने फोहोरमा ७५ प्रतिशत कुहिने खालका भएको जानकारी दिँदै त्यसलाई कम्पोष्ट मलमा परिणत गर्ने प्रस्ताव मेयर शाहले राखेका थिए। यसका लागि हरेक वडाले कुहिने र नकुहिने फोहोर छुट्टयाएर राख्न सर्वसाधारणलाई आग्रह गर्नेछन्। महानगरले छुट्टाछुट्टै गाडी पठाएर फोहोर संकलनको व्यवस्था मिलाउनेछ।

‘फोहोरलाई मलमा परिणत गर्ने कुरा हामीले धेरै सुन्दै आएका छौं तर अहिलेसम्म कार्यान्वयन भएको छैन,’ मेयर शाहले भने, ‘हामीलाई तीन घन्टा, छ घन्टाभित्रै फोहोर कुहाएर मल बनाउने मेसिन चाहिएको छ। संसारमा यस्ता मेसिन उपलब्ध हुन थालिसकेका छन्। हामी त्यस्तो मेसिन ल्याउन प्रक्रिया अघि बढाउनेछौं।’

फोहोर व्यवस्थापन नगरी खादा नलगाउने र कुनै किसिमको उत्सव नमनाउने प्रण पनि उनले बैठकमा दोहोर्‍याए। काठमाडौंको मतपरिणाम घोषणा भएकै दिन आफू सिसडोल र बञ्चरेडाँडास्थित डम्पिङ साइट गएको बताउँदै शाहले कार्यपालिका बैठकमा भने, ‘काठमाडौंको फोहोर जम्मा भएर सिसडोल र बञ्चरेडाँडा बस्न अयोग्य भइसकेका छन्। त्यहाँका मान्छे क्यान्सर र छालाको रोगले पीडित छन्। त्यो ठाउँलाई हामीले आफ्नो पापको भारी बोकाइरहेका छौं। जबसम्म फोहोरको समस्या समाधान हुँदैन म कुनै उत्सव मनाउँदिनँ। यो शोक मनाउने घडी हो। हाम्रो टाउकोमा फोहोरमैलाका कारण सिर्जित हत्याको भार छ।’

कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन निम्ति मेयरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। यसमा उपमेयरसहित नेकपा एमालेका एक जना वडाध्यक्ष, नेपाली कांग्रेसका दुई जना वडाध्यक्ष र एकीकृत समाजवादीका एक जना वडाध्यक्ष सदस्यका रूपमा रहनेछन्। महानगरका प्रशासकीय अधिकृत सदस्य–सचिव हुनेछन्। यो कार्यदलको पहिलो बैठक मंगलबार बिहान साढे ९ बजे बस्ने कार्यपालिकाले निर्णय गरेको छ।

चौथो बुँदामा काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय भएको छ। बढीमा सात दिनभित्र सम्झौता गरेर कार्यान्वयनमा लगिनेछ।

यसका लागि चिकेन स्टेसन, बर्गर स्टेसन लगायत केही होटल तथा रेस्टुरेन्टसँग आफूले छलफल गरिसकेको मेयर शाहले जानकारी दिए। सार्वजनिक शौचालय सञ्चालन हुने होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पमा महानगरले साइनबोर्ड राख्नुका साथै टाढैबाट देखिने रातो बत्ती जडान गर्नेछ। त्यस्ता शौचालयलाई महानगरले प्रमाणित गरेर गुगल म्यापमा सूचना दिनेछ।

‘यसले रेस्टुरेन्टको व्यवसाय बढ्न सक्छ। शौचालय प्रयोग गर्न जानेले एक कप चिया खान सक्छन् तर खानैपर्छ भन्ने छैन,’ उनले भने, ‘यो उनीहरूको तर्फबाट सर्वसाधारणलाई दिइने सेवा हो।’

शौचालय प्रयोग गर्न दिएबापत् रेस्टुरेन्टहरूलाई के सुविधा दिने भन्ने निर्णय भइसकेको छैन। महानगरले अहिले भएका सार्वजनिक शौचालय व्यवस्थापन गर्नुका साथै नयाँ शौचालय पनि निर्माण गर्दै जाने उनले बताए।

पाँचौं बुदामा महानगरको सेवा लिन कल सेन्टर सञ्चालन गर्ने भनिएको छ। यसलाई पनि सात दिनभित्र कार्यान्वयनमा लैजाने बैठकले निर्णय गरेको छ। यस्तो कल सेन्टरमा काठमाडौंका ३२ वटै वडाको डेटाबेस राखिनेछ। सबै वडाध्यक्षले त्यो डेटाबेस हेर्न सक्नेछन्। सर्वसाधारणले कल सेन्टरमा फोन गरेर आफ्ना गुनासा र समस्या राख्न पाउनेछन्। तिनै गुनासा र समस्याका आधारमा सम्बन्धित वडाध्यक्षले तुरून्तै समाधानको पहल गर्ने मेयर शाहले जानकारी दिए।

‘यसमा महानगरको एम्बुलेन्स सेवा र अन्य सेवासुविधा बिस्तारै थप्दै लगिनेछ,’ उनले भने। छैठौं बुँदाअन्तर्गत महानगरले भौतिक पूर्वाधार एम्बुलेन्स सुरू गर्ने निर्णय गरेको छ। यसका लागि निर्देशिका बनाउने र बढीमा सात दिनभित्र कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

मेयर शाहले तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्सबाट सेवा सुरू गर्ने जानकारी दिए। ‘महानगरभित्र कुनै पूर्वाधार बिग्रियो भने तुरून्तै मर्मतसम्भार गर्नु यसको उद्देश्य हो,’ उनले भने, ‘कतै बाटो खाल्डो पर्‍यो, ढल फुट्यो वा पूर्वाधारसम्बन्धी समस्या आयो भने महानगरको कल सेन्टरमा फोन गर्न सकिन्छ। त्यसपछि कल सेन्टरले तुरून्तै त्यस्तो ठाउँमा प्राविधिकसहितको भौतिक पूर्वाधार एम्बुलेन्स पठाइदिन्छ।’

समयमै मर्मतसम्भार भए बाटाका खाल्डाखुल्डी र ढलको समस्याले विकराल रूप लिन नपाउने शाहले बताए।त्यसपछि आउँछ विवादित सातौं बुँदा। ‘विविध’ शीर्षकअन्तर्गतको यो प्रस्तावमा ३१ नम्बर वडाका पूर्वनिर्धारित दुइटा बाटो बनाउने र केही कानुनसम्बन्धी विषय थिए जसमा वडाध्यक्षहरूलाई खासै आपत्ति थिएन।

उनीहरूको आपत्ति यही शीर्षकअन्तर्गतको ‘प्रि–मनसुन ड्रेनेज क्लिनिङ’ अर्थात मनसुनपूर्वको ढल सरसफाइमा थियो। यसमा आगामी ४५ दिनभित्र महानगरका विभिन्न वडाको ढल सफा गर्ने तालिका विभाजन गरिएको थियो। महानगरका १५ वटा ठूला वडामा दुई दिनका दरले ३० दिन ढल सफा गर्ने भनिएको छ। मझौला क्षेत्रफलका १० वटा वडालाई एक दिनका दरले १० दिन छुट्टयाइएको छ भने साना आकारका सातवटा वडामा पाँच दिन ढल सफा गर्ने भनिएको छ।

ढल सफाइको काम मंगलबारबाटै सुरू गर्ने प्रस्ताव राखिएको थियो। मंगलबार र बुधबार वडा नम्बर १ बाट सुरू गर्ने र त्यसपछि गोलाप्रथाबाट वडा निर्धारण गर्ने भनिएको थियो। वडाध्यक्षहरूले गोलाप्रथाबाट वडा चयन गर्नु अव्यवहारिक भन्दै आपत्ति जनाए। प्राथमिकताका आधारमा वडा छनौट हुनुपर्ने उनीहरूको भनाइ थियो।

त्योभन्दा ठूलो आपत्ति यो प्रस्ताव विधि मिचेर गलत तरिकाले ल्याइयो भन्नेमा थियो। मेयर शाहले सुरूमा प्रस्ताव पढेर सुनाउँदा सातौं बुँदा परेको थिएन। बैठकको आखिरीमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले यो बुँदासमेत थपेर पास भएको घोषणा गरेपछि वडाध्यक्षहरूले होहल्ला गरेका थिए।

‘आजका निर्णय अभिलिखित गरेर हामी वडाध्यक्ष, प्रमुख, उप्रमुखहरूलाई दिन्छौं र आजको नगरपालिका बोर्ड बैठक समापन गरिदिन नगर प्रमुखलाई…..’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले यति भन्दाभन्दै वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले आफ्नो कुर्सीबाट उठेर प्रश्न गरे, ‘कहिले बसेको बोर्ड बैठक ?’

पौड्यालले ‘आजको बैठक’ भनेपछि वडाध्यक्ष रिजालले आपत्ति जनाए, ‘यो त तपाईंले पहिल्यै भन्नुपर्‍यो नि। पहिले एजेन्डा अर्कै भन्ने अनि अहिले आएर बोर्ड बैठकले निर्णय गर्‍यो भनेर हामीलाई आदेश दिने ?’

उनले अगाडि भने, ‘यो बोर्ड बैठकमा एजेन्डाहरू दिएपछि हामीले छलफल गरेर टेबल ठटाएपछि बल्ल पास हुन्छ। प्रस्ताव पास गर्न कार्यपालिका सदस्यहरू चाहिँदैन ? त्यसै पास भयो भनेर भन्ने हो ?

उनले यसो भनेपछि अरू वडाध्यक्षहरूले साथ दिए। प्रमुख प्रशासकीय अधिकृतले आफ्नो भनाइ सच्याउँदै ती सबै प्रस्ताव मात्र भएको र आफूले सहजीकरण गरिदिएको बताए।

वडाध्यक्ष रिजाल चुप बसेनन्। भने, ‘सहजीकरण होइन, तपाईंले त घोषणा गर्नुभयो। निर्वाचित जनप्रतिनिधिहरूलाई बैठकको निर्णय भनेर सुनाउनुभयो। तपाईं यो निर्णय फिर्ता लिनुस्। मेयरले प्रस्ताव पेस गर्ने अनि हामीले टेबल ठटाएर पास गर्ने हो।’

त्यसपछि प्रमुख प्रशासकीय अधिकृतले निर्णय फिर्ता भएको घोषणा गरे। वडाध्यक्षहरूले टेबल ठटाएर त्यसको स्वागत गरे। यति भएपछि मेयर शाहले एक–एक प्रस्ताव फेरि पढेर सुनाए। अनि बल्ल वडाध्यक्षहरूले टेबल ठटाएर पास भएको घोषणा गरे।

विवादित बुँदामा भने मेयर शाहले केही कुरा प्रस्ट पारेपछि संशोधनसहित पास गरियो। यसअनुसार प्राथमिकताका आधारमा ढल सरसफाइ गर्नुपर्ने वडा निर्धारण गरेर एउटा जेट मेसिन उपलब्ध गराउने र अर्को मेसिन आकस्मिक अवस्थामा प्रयोग गर्ने निर्णय गरियो।