प्रचण्ड फकाउन ओलीले फाले हुकुमको एक्का, देउवालाई छट्पटी !
काठमाडौं – स्थानीय तह निर्वाचनमा नमज्जाले हारेको नेकपा एमाले गठबन्धन फुटाउन हरेक अस्त्रको प्रयोग गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो अस्त्रको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई हुकुमको एक्का जस्तै प्रधानमन्त्रीको अफर गरेका छन् ।
नेकपा एमालेको हारलाई पार्टी अध्यक्ष ओलीले ‘अन्तर्घात’ भने पनि पार्टी विभाजन नै प्रमुख कारण भएको भित्री बुझाईका कारण ओलीले प्रचण्डलाई सम्झिएका हुन् । प्रचण्डले नमाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि त्यही प्रस्ताव गरेर फकाउन थालेका छन् ।
माधव नेपालको भित्री कमजोरी थाहा पाएका ओलीले प्रचण्डले नमाने आगामी प्रदेश र संघको निर्वाचनका लागि नेपाललाई प्रधानमन्त्री बनाएर जाने रणनीति बनाएका छन् । नेपाल र प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नुको कारण गठबन्धन भत्काउनु हो ।
तर, नेपाल र प्रचण्ड ६ महिनाका लागि प्रधानमन्त्री बन्न गठबन्धन छाड्ने पक्षमा छैनन् । नेपाल र प्रचण्डले ओलीका दूतलाई यो कुरा सुनाइसकेका छन् । एमालेभित्र अहिले अध्यक्ष ओलीले पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुपर्छ र पर्दैन भन्ने बहस तीब्र भएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा पुर्ती गर्नका निम्ति पार्टी एकता र वामगठबन्धनको दिशातर्फ अग्रसर हुनुपर्ने बहुसंख्यक एमाले नेताको राय छ । तर, ओली ‘मार्गप्रशस्त’ का नाममा अध्यक्ष पदबाट राजीनामा दिन तयार छैनन् । अझै नेपाल र प्रचण्डलाई ‘ललिपप’ देखाएर गठबन्धन भाड्ने पक्षमा छन् ।
स्थानीय निर्वाचनको परिणाम आएपछि एमालेभित्र विकसित घटनाक्रमलाई हेर्दा कि पार्टी एकता कि अर्को विभाजनको दृश्य देखिन्छ । ओली यसरी नै अहंकारी र दम्भी भएर पेश हुने हो भने पार्टी त रसातलमा पुग्छ नै, थुप्रै नेता र कार्यकर्ताका सपना पनि त्यससँगै चकनाचुर हुने स्थितिबारे कुरा उठाउने नेताहरुलाई ओलीले निषेध गर्न थालेका छन् ।
ओलीसँग नियमित भेट्ने नेताहरूले ‘राजीनामा दिनुहुँदैन’, ‘पालिकाहरुको संख्यामा हारे पनि भोट हाम्रै बढी छ’, ‘बरु, गठबन्धनमा फुट ल्याउनुपर्छ, राजीनामा त दिनै हुँदैन’ जस्ता सुझाव दिँदै फर्किएका छन् । यी सुझावहरू सुनेर ओली दंग छन् । तर, स्वयं ओलीसँग कुरा राख्ने अवसर नपाएका नेताहरू विभिन्न अन्तर्वार्ता र आन्तरिक भेला, बैठकमा ओलीले ‘मार्गप्रशस्त’ गर्नुपर्छ भनिरहेका छन् ।
स्रोत भन्छ, ‘ती कुरा ओलीलाई मन परेको छैन ।’ एमालेका एकजना पोलिट्व्युरो सदस्य भन्छन्, ‘यसकारण एमालेमा ओलीलाई मन नपरेको र मन लागेको काम हुनै सक्दैन । त्यसैले पार्टी एकता सम्भव छैन ।’
एमालेभित्र विकास भएको ‘मार्गप्रशस्त’ र ‘छाड्नै हुँदैन’ भन्ने लाइनमा लागेका नेताहरू पनि थरिथरिका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको लाइन ‘मार्गप्रशस्त’ हो । तर, उनले यो लाइन लिनुका पछाडि पार्टी विभाजन गरेर गएका नेताहरू फर्किउन् र एकता होस् भन्नका लागि हैन । उनले ओलीले राजीनामा दिए त्यसलगत्तै आफू कावा अध्यक्ष हुन पाइन्छ भन्ने लोभले उनलाई ‘मार्गप्रशस्त’ को लाइन मन परेको हो ।
यदि, ईश्वर पोखरेलका लागि त्यस्तो मौका आएमा त्यसैमा टेकेर केही समय पार्टी अध्यक्ष चलाउने र एकताका क्रममा अध्यक्षको हैसियतले आफू र आफ्ना मान्छेहरूको राम्रो सेटलमेन्ट गर्ने नियत उनले राखेको स्रोतले बताएको छ ।
‘अर्को कुनै भरपर्दो वरिष्ठ उपाध्यक्ष भए ओलीले यतिबेलासम्म कि राजीनामा दिएर कि कावा दिएर बिदा बस्थे, तर छट्टु स्याललाई कावा अध्यक्ष दिएर आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हुने भएकाले पनि उनी राजीनामाको कुरा सोचिरहेका छैनन्’, एक एमाले केन्द्रीय सदस्य भन्छन्, ‘अहिले ओलीका लागि अध्यक्ष पद त्याग्नु भनेको आत्महत्यासरह हुन्छ, त्यसैले उनी राजीनामा दिँदैनन् ।’
यदि कुनै कारण राजीनामा नदिई नहुने अवस्था आयो वा ‘मार्गप्रशस्त’ भनिएकाहरूलाई बीचको बाटोबाट मनाउनका लागि केही समय बिदामा बस्नुपर्ने भयो भने ओलीले अर्का उपाध्यक्ष रामबहादुर थापा ९बादल० लाई विश्वास गर्न सक्छन्, तर ईश्वर पोखरेलको भर नभएको एमाले नेताहरूको भनाइ छ ।