फेरी शक्तिशाली भए धनगढीका मेयर हमाल, देउवाले खुट्टा ढोग्न पर्ने
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल फेरी शक्तिशाली भएर उदाएका छन् । जिल्ला समन्वय समितिका लागि हुन लागेको निर्वाचनमा समितिकरण फेरबदल भएपछि हमाल शक्तिशाली भएका हुन् ।
जिल्ला समन्वय समिति गठन गर्दा बहुमतका लागि १४ जना आवश्यक पर्छन । नेपाली कांग्रेसका ८, माओवादी केन्द्रका ४ र एकीकृत समाजवादीका एक गर्दा उनीहरुसँग अहिले १३ जना पुग्छन् । जितका लागि स्वतन्त्र रुपमा विजयी भएका हमाल निर्णायक बनेका छन् ।
कैलालीमा नागरिक उन्मुक्ती पार्टी र नेकपा (एमाले)सँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णयबाट माओवादी केन्द्र पछि हटेपछि यस्तो अवस्था सृजना भएको हो । तीन दिनपछि माओवादीले पुनः सत्ता गठबन्धनमै रहने निर्णय गर्दै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले १९ जेठमा नागरिक उन्मुक्ति पार्टी र एमालेसँग सहकार्य गरेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो तर शनिबार भने माओवादी केन्द्र गठबन्धनतिर लागेको छ ।
कैलालीको गौरीगंगा नगरपालिकामा बसेको सत्तारुढ गठबन्धनका नेताहरूको बैठकले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने भएको छ भने एकीकृत समाजवादी पार्टीले तीनजना सदस्य पाउनेछ । अन्य सदस्यमा कांग्रेस र माओवादीबीच भागबण्डा हुनेछ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले जिल्ला समन्वय समितिको प्रमुख, एमालेले उपप्रमुखसहित केही सदस्य र माओवादी केन्द्रले चार सदस्य लिने गरी तीनवटै दलका नेताहरुबीच सहमति भएको थियो ।
एमाले र नागरिक उन्मुक्ति पार्टीले माओवादी केन्द्रले लामो छलफलपछि भएको सहमति उल्टाउनुलाई राजनीतिक संस्कार नभएको रुपमा टिप्पणी गरेका छन् ।
‘लामो छलफलपछि गरिएको सहमति माओवादीले तोडेको छ । राजनीतिक रुपमा यो राम्रो कुरा होइन’ एमाले कैलालीका सचिव डेजी पाण्डले अनलाइनखबरसँग भने, ‘स्थानीय चुनावमा कांग्रेसबाट धोका पाएको माओवादीले अब पनि धोका पाउँदैन भन्ने कुरा ग्यारेन्टी छैन ।’