एकीकृत समाजवादीका एक बाहेक सबै मन्त्री फिर्ता !
काठमाडौं – नेकपा एकीकृत समाजवादीले एक जना बाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । आज बसेको सचिवालय बैठकले संघीय सरकारमा सहभागी एक जना बाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो ।
आइतबार बसेको सचिवालय बैठकले कानुन, न्याया तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीबाहेक सबैजना मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको एकीकृत समाजवादीले जनाएको छ । सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्यो। त्यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्यौं’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्यक्ष) ले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ।’
उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्नु पर्ने बताए । उनले भने, ‘ पार्टीले आवश्यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्यकता ठान्यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाभिक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वभाभिक रुपमा लिनुहुन्छ। ‘
गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सहभागी छन् ।