सपथ खान दौरा सिगार्दै सितलनिवास पुगेका नेकपा एसका सांसद लोप्पा खाएर फर्किए

सोमबार, २३ जेष्ठ २०७९

कैलाली – नेकपा एकीकृत समाजवादीको तर्फबाट नयाँ मन्त्रीमा सिफारिस भएका पाँच नेता हिस्सिएका छन् । आज शपथग्रहणका लागि दौरा सुरुवाल रेडी गरेर बसेका उनीहरूको मन्त्री बन्ने अनिश्चित भएपछि हिस्सिएका हुन् । हिजो मात्र बहालावाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागी सिफारिस गरिएका सांसदहरु पार्टीले तत्काल मन्त्री हेरफेर नगर्ने भन्दै निर्णयबाट ब्याक भएपछी बिना सपथ फर्किएका छन्।  यसरी पार्टी एकाएक निर्णयबाट ब्याक भएपछी मन्त्रीका लागी प्रस्तावित सांसदहरु लोप्पा खाएर फर्किएको भनी चर्चा गर्न थालिएको छ।

हिजो मात्रै नेकपा एसले आफ्नै पार्टीका ४ जना मन्त्री हटाइ नयाँ नियुक्त गर्ने निर्णय लिएको थियो । तर, प्रधानमन्त्रीको असहमतिपछि उक्त निर्णय अलपत्र परेको हो । यससँगै मन्त्री बन्न खुट्टो उचालेकाहरू अन्योलमा परेका छन् ।

नेकपा एसले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा ‘फुलमन्त्री’ दिन पनि सिफारिस गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना मन्त्री हटाउन मानेका छैनन् ।

उनले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् ।

यता मन्त्रीको लागि सिफारिस भएकाहरू भने पार्टीको निर्णय कार्यान्वयन हुनेमा अझै विश्वस्त छन् । पर्यटन मन्त्रीमा पार्टीबाट सिफारिस भएका नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका जीवनराम श्रेष्ठले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

‘जे निर्णय भएको थियो त्यही हुन्छ, अरू केही हुँदैन,’ उनले नेपाल प्रेसलाई भने ।

गठबन्धनका दलहरूबीच तत्काल मन्त्रीपरिषद् पुनर्गठन नगर्ने सहमति भएको समाचार नै गलत भएको श्रेष्ठले टिप्पणी गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गराएको कुरा आएको छ त ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने ‘त्यो गलत कुरा हो गलत समाचार हो ।’

शपथ ग्रहणमा केही प्राविधिक समस्या भएको भन्दै त्यो मिलाउने काम भइरहेको समेत श्रेष्ठले बताए ।