मन्त्रीपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् नयाँ मन्त्री ?
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । कांग्र्ेसको भागमा रहेको रक्षा मन्त्रालयमा नेतृ सुजता कोइरालालाई ल्याएर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको सपथ पनि संगै गराउने देउवाको तयारी । नेकपा माओवादी केन्द्र, जसपा, नेपाली कांग्रेस सबै सत्तारुढ दलहरुबाट एकैचोटी मन्त्री हेरफेरको तयारीसहित देउवाले केही दिनका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरुले सपथ रोकेका थिए ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित भएका तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै उक्त मन्त्रालय रिक्त छ । १४ औँ महाधिवेशनमा आफ्नै दाई शेखर कोइरालाको साथ छाडेर देउवा क्याम्पतिर लागेकी सुजाता कोइरालालाई रक्षामन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री देउवा निकट स्रोतले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेर पराजित बनेकी उनले दोस्रो चरणमा सभापतिमा देउवालाई सघाएकी थिइन् । त्यसकै गुन तिर्दै देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आज मन्त्री पदको शपथ ग्रहण हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेका सांसद चौधरीले बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा हुने बताएका थिए ।
आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको भन्दै सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने, ‘पार्टीले निर्णय गर्यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ ।’
सांसद चौधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकै पटक शपथ गराउनका लागि समय पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।
समाजवादीले पार्टीका तर्फबाट नयाँ मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेबहादुर कुँवर र हिराचन्द्र केसीलाई पठाएको छ । राज्य मन्त्री भवनी खाँपुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।
खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको छ । यस्तै सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।