बालेनलाई बोलाएर देउवाले दिए फोहोर व्यवस्थापनको विकल्प
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग छलफल गरेका छन् । देउवाले बालेनलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न स्थानीयको विश्वास जित्न पर्ने बताए । उनले बालेनको प्रयासमा सरकारको साथ रहनेसमेत बताए ।
साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरे । गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने भनिएपनि सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।
फोहोर नउठेपछि सरकारको आलोचना हुन थालेको छ । बिहीबारमात्र संसद्मा सांसदहरूले फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानार्षण गराएका थिए ।
शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयसँग छलफल गर्ने तय भएको छ ।