सपथ खाएको पहिलो दिनमै एक्सनमा उत्रिए मेटमणि चौधरी, ह्वात्तै जिते जनताको मन
काठमाडौं – नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरी पनि प्रेम आलेकै सैलीमा सपथ खाएको पहिलो दिनमै एक्सनमा उत्रिएका छन् । आफ्ना अभिव्यक्तीका कारण भाइरल पूर्वमन्त्री आलेलाई काउन्टर दिनेगरी मन्त्री चौधरी पनि एक्सनमा उत्रिएका हुन् । सपथ ग्रहणको पहिलो दिनमा चौधरीको होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने अभिव्यक्तिले चर्चा पाएको हो।
चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।
‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए ।
‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट सुरु हुँदैन । यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्याउँछु’, मन्त्री चौधरीको भनाइ छ । उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए ।
‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’