राजेन्द्र लिंदेनलाई अध्यक्षबाट हटाउने तयारी, डिल्लीमा बन्दैछ ग्राण्ड डिजाइन
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट कमल थापालाई हराएर सानदार जित निकालेका राजेन्द्र लिंदेनलाई अध्यक्षबाट हटाउने तयारी भइरहेको सूचना प्राप्त भएको छ । राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराको लिंदेनलाई हटाउन चलखेल सुरु गरेका हुन् ।
यो खेलमा पशुपती शमशेर जबरा र उनको सिंगो टिम हात धोएर लागेको श्रोतको दावि छ । लिंदेनले राम्रो मौका पाउँदा पनि काम गर्न नसकेको र उनी आफ्नो हिसाबले चल्न खोजेको आरोप लगाउँदै विशेष महाधिवेशन बोलाएर हटाउने तयारी गरिएको छ ।
विशेष महाधिवेशन बोलाएर त्यहिँबाट लिंदेनलाई हटाउँने सम्मको डिजाइनको रुपरेखा बनिसकेको छ। लिंदेनले ज्ञानेन्द्र शाही, ज्वाला संग्रौलाजस्ता व्यक्तिहरुलाई पार्टीमा बढि एक्सपोज दिएको भन्दै पशुपती शमशेरको टिम आक्रोसित भएको छ । लिंदेनको नेतृत्वमा बस्नै असहज हुने अवस्थामा राणा टिम पुगेको बताइन्छ ।
राप्रपा स्रोतका अनुसार पूर्वअध्यक्ष पशुपति शमशेर राणासहित नेताहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, जगत गौचनलगायत अध्यक्ष लिङ्देनप्रति असन्तुष्ट देखिएका हुन् । अध्यक्ष लिङ्देनका कार्यशैली र सांगठिनक संरचना निर्माणप्रति उनीहरू असन्तुष्ट भएका हुन् ।
पूर्वअध्यक्ष पशुपतिशमशेर राणा यसैको तयारीका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । २२ दिनका लागि दिल्ली बसाइृ सकाएर राणा यही हप्ता काठमाडौँ फर्किदैछन् । राणाले भारतबाट ल्याएको ब्रमास्त्र प्रयोग गर्दै लिंदेनलाई हटाउन कोशिष गर्नेछन् ।
राप्रपाभित्रको विवादले विशेष महाधिवशेनको माग हुन सक्ने बताउँदै श्रोतले भन्यो, ‘अध्यक्ष लिङ्देनले मौका पाएका थिए, उक्त मौकालाई सदुपयोग नगरेर व्यक्तिगत हिसाबमा चल्न थालेपछि हामी विशेष महाधिवेशनको मागसम्म पुग्ने स्थिति देखिएको छ ।’
श्रोतका अनुसार राणासहितका नेताहरू स्थानीय चुनावअघिदेखि नै लिङ्देनसँग असन्तुष्ट भएपछि चुनावमा ‘लिङ्देनको पपुलारिटी’लाई परीक्षण गर्नका लागि चुप लागेका थिए । स्थानीय चुनावमा लिङ्देन पपुलारिटीको चर्चा भए पनि त्यसअनुसार भोट नबढेको राप्रपाभित्र चर्चा हुने गरेको छ । पहिला नेपालगञ्जजस्तो उपमहानगरपालिका जितेको भए पनि अहिले त्यस्तो महत्त्वपूर्ण पालिका जित्न नसकेको दाबी असन्तुष्ट पक्षको छ ।
त्यसैगरी, बुद्धिमान तामाङको प्रभाव क्षेत्र मानिएको धादिङको रुबिभ्याली गाउँपालिका राप्रपाले गुमाएको छ । उक्त पालिका अहिले माओवादी केन्द्रले जितेको छ । राप्रपाले पहिला पाँचवटा नगरपालिका जितेको अहिले तीनवटा मात्रै जितेको छ । पहिलाको एउटा उपमहानगरपालिकासमेत गुमाउनुपरेको भन्दै एक नेताले भने अघिल्लो स्थानीय चुनावमा सातवटा उपमेयर जितेकोमा अहिले तीनवटा मात्रै जितेको उल्लेख गरे ।
त्यसैगरी अघिल्लो चुनावमा करिब ३ लाख मत आएकोमा अहिले केही बढेर साढे ३ लाखजति मात्रै आएको राप्रपाभित्र विश्लेषण भइरहेको छ । योपटक राप्रपाको उपलब्धि भनेको काठमाडौंको शंकरापुर नगरपालिका जित्नु हो । त्यसबाहेक राप्रपाले पुरानो मत बढाउन नसकेको टिप्पणी राप्रपाभित्र भइरहेको छ ।
महाधिवेशनमा लिङ्देनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले सबैभन्दा बढी साथ दिएका थिए ।अध्यक्ष लिङ्देनसँग अहिले लोहनी पनि असन्तुष्ट देखिएका छन् । तर, उनी राणा समूहजस्तो चर्को रूपमा भने नदेखिएको राप्रपा स्रोतको दाबी छ ।