एनआईसी एसिया बैंकबाट हप्ता उठाएका छैनौँं : राष्ट्र बैंक

बिहिबार, १६ असार २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकबाट हप्ता नउठाएको जनाएको छ । ‘एनआईसी एसिया बैंकबाट करोडौं हप्ता उठाउँछन् राष्ट्र बैंकका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण’ शीर्षकको समाचारमा खण्डन पठाउँदै बैंकले हप्ता नउठाएको स्पष्ट पारेको हो ।

मोटिभेट न्यूजलाई पठाएको खण्डमा उक्त समाचार भ्रामक, कपोकल्पित र झुठो विवरणसहितको भएको उसको ठहर छ । ‘मोटिभेटन्यूज डट कममा मिति २०७९ असार ४ गते प्रकाशित ‘एनआईसी एसिया बैंकबाट करोडौँ हप्ता उठाउँछन् राष्ट्र बैंकका गभर्नर अधिकारी, नपत्याए हेर्नुहोस् प्रमाण’ शीर्षकको समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बैंकका सूचना अधिकारी नारायणप्रसाद पोख्रेलले पठाएको खण्डनमा भनिएको छ, ‘पत्रकारिताको पेशागत मर्यादा विपरीत तथ्य र प्रमाणविना नै लेखिएको उक्त समाचार अत्यन्त निकृष्ट र बदनियतको मनसायबाट प्रेरित रहेको यस बैंकको ठम्याई छ।’

नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारी र अन्य पदाधिकारीको प्रतिष्ठामा आँच आएको उल्लेख गरेको छ । साथै, समाचारको विवरण समेत झुट रहेको बैंकको ठहर छ । ‘नेपाल राष्ट्र बैंकको वेबसाइटमा राखिएको विवरणअनुसार एनआईसी एसिया बैंकको बैंकिङ शाखा ३५९ नै छ ।’ खण्डनमा लेखिएको छ, ‘उक्त सूचीमा केन्द्रीय कार्यालय १, प्रादेशिक कार्यालय ७, एक्सटेन्सन काउन्टर १०२ र अन्य (कार्ड सेन्टर १ समेतलाई समावेश गरिएको हुँदा कुल शाखा संख्या ४७० देखिएको हो।’

‘बैंक सुपरिवेक्षण रिपोर्ट–२०१९/२०’ मा उल्लेखित शाखा संख्याको विषयलाई समेत बैंक स्पष्ट पार्न चाहन्छ । सो प्रतिवेदनमा २०७७ चैत मसान्तमा एनआईसी एसिया बैंकको । शाखा संख्या ४२८ उल्लेख भएको र उक्त संख्यामध्ये बैंकिङ कारोबार गर्ने शाखाको संख्या ३५२ रहेको छ । सो संख्यामा केन्द्रीय कार्यालय १ र एक्स्टेन्सन काउण्टर ७५ समेत समेटिएको हुँदा प्रतिवेदनमा कुल शाखा संख्या ४२८ देखिएको हो ।’ खण्डनमा भनिएको छ ।

मोटिभेट न्यूज डटकमले मागेको सूचनामा नेपाल राष्ट्र बैंकले गलत जवाफ दिएको थियो । ‘तपाईको निवेदनमा उल्लेख भएबमोजिम बैक सुपरभिजन रिपोर्ट, २०१९/२०’ मा उल्लेखित बैंकका शाखाहरुको संख्या त्रुटिपूर्ण नरहेको र उक्त रिपोर्ट तयार हुँदाका बखत कायम रहेको शाखा संख्या नै उक्त रिपोर्टमा समेटिएको व्यहोरा अनुरोध छ ।’ बैंकका शाखाहरुको संख्यामा किन अन्तर देखियो भन्ने जिज्ञासामा राष्ट्र बैंकले भनेको थियो, ‘बैंकका शाखाका सन्दर्भमा उक्त रिपोर्टमा प्रकाशित आकडाप्रति बैक विश्वस्त छ । तसर्थ, यस विषयमा कुनै किसिमको आशंक राख्न आवश्यक नरहेको व्यहोरासमेत अनुरोध छ।’

मोटिभेट न्यूजले सूचना हकको प्रयोग गर्दै नेपाल राष्ट्र बैंकसँग मागेको सूचना ।

उनको जवाफमा चित्त नबुझेपछि मोटिभेट न्यूजले राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई पत्र पठाएको थियो । ‘नेपाल राष्ट्र बैंकको ‘बैंक सुपरभिजन रिर्पोट २०१९/२०’ (जुन रिपोर्टमा हजुरकै हस्ताक्षर छ) को ‘नेपाली बैंकिङ इण्डष्ट्रिज’ शिर्षकको उपशिर्षक १.५ (ब्रान्च नेटवर्क, पेज नम्बर ५) मा उल्लेख भएको बैंकका शाखाहरुको तथ्याङमा त्रुटि देखिएको छ । टेबल १३ मा उल्लेखित बैंक अनुसारका ब्रान्च संख्या तत्कालिन अबस्थामा संचालनमा रहेको भन्दा फरक पाइयो । रिपोर्टमा १७ वटा बैंकका शाखाहरु संचालनमा भएका भन्दा धेरै देखाइएको छ भने १० बटा बैंकका शाखाहरु थोरै देखाईएको छ । रिपोर्टमा थोरै र फिल्डमा धेरै शाखा भएको बैंकहरुको हकमा शाखाहरु पछि थपिएको हुनसक्छ तर रिपोर्टमा धेरै फिल्डमा थोरै शाखा भएको बैंकको हकमा के भएको हो ?’ मोटिभेटको तर्फबाट शोभराज बरालले पत्रमा लेखिएको छ, ‘रिपोर्ट हेरिसके पछि मैले सबै बैंकहरुसँग सूचनाको हक प्रयोग गर्दै शाखा संख्याको बारेमा सूचना मागें । यसमध्ये उदाहरणको रुपमा एनआईसी एसिया बैंकको लिऊँ । बैंकले २०७९ जेठ २० गतेसम्म कुल शाखा संख्या ३५९ रहेको लेखि पठायो । यता रिपोर्टमा ४२८ देखाएको छ । यसमा अलिकति पनि तालमेल मिलेन । यो बैंकले एक बर्षमा ६९ वटा शाखा बन्द गरेको त होइन होला ? की बैंकले राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखा संचालन नगरेको हो ? वा अरु केही कारण छ कृपया खुलाईदिनुहोला।’

प्रवक्ता भट्टले उक्त पत्रको जवाफ आजसम्म दिएका छैनन् । ‘मोटिभेट न्यूजले थप अध्ययन गर्दा राष्ट्र बैंकको पछिल्लो विवरणमा एनआईसी एसिया बैंकको शाखा संख्या ह्वात्तै बढेर ४ सय ७० देखिएपछि समाचार संकलन गरेको हो । मोटिभेट न्यूजको समाचार र प्राप्त प्रमाण अनुसार समाचारमा कुनै त्रुटी छैन् । यदी त्रुटी भए यसको जिम्मेवार नेपाल राष्ट्र बैंक हुने मोटिभेट न्यूजको ठहर छ ।’, मोटिभेट न्यूजका सम्पादकले भनेका छन्, ‘तर पनि सार्वजनिक मिडिया भएको नाताले राष्ट्र बैंककै कर्मचारीहरुको गलत सूचनाका कारण/सूचना नदिएका कारण गभर्नर र अन्य अधिकारीहरुको सार्वजनिक प्रतिष्ठामा परेको असर प्रति मोटिभेट न्यूज डटकम क्षमा चाहन्छ । आगामी दिनमा यसलाई सच्याउँदै जानेछौँ ।’

एनआईसी एसिया बैंकको तर्फबाट पनि हप्ता नदिएको भनेर मोटिभेट न्यूजलाई खण्डन प्राप्त भएको थियो ।

 

गभर्नरलाई हप्ता बुझाएका छैनौँ – एनआईसी एसिया बैंक