सरकारका बिरुद्धमा किसानहरुले चाले कठोर कदम, कृषि मन्त्रालयमै ठोकिदिए भोटे ताल्चा

बिहिबार, १६ असार २०७९

काठमाडौँ –  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बिरुद्धमा किसानहरुले कठोर कदम चालेका छन् ।  किसानहरुले शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै कृषि मन्त्रालयमा तालाबन्दी गर्ने जस्तो कठोर कदम चालेका हुन् ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका कृषक समूह र सहकारीमा आवद्ध किसानहरु मन्त्रालयमा ताला लगाएर धर्नामा बसेका छन् ।

जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले सरकारले सम्झौता गरेको र शीत भण्डार निर्माण गर्दा भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनका अनुसार प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेको छैन ।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ । यो विषय सांसदहरुले सदनमा समेत पटक–पटक उठाइसकेका छन् ।