राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नै उर्लिए जनता

आइतबार, २६ असार २०७९

काठमाडौँ— श्रीलंकामा चरम आर्थिक संकट व्यहोरिरहेका जनता राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नै उर्लिएका छन्। केही महिनायता चर्किएको प्रदर्शनले शनिबार उग्ररूप लिएको छ।राष्ट्रपति गोटाबाया राजापाक्षे हजारौं प्रदर्शनकारीले कोलम्बोस्थित आफ्नो निवास घेरेपछि त्यहाँबाट भागेका छन्।

प्रहरीले हावामा गोली प्रहार गरे पनि भीडलाई राष्ट्रपति निवास प्रवेशबाट रोक्न सकेन। प्रदर्शनकारीहरूभित्र प्रवेश गर्दा राजापाक्षे त्यहाँ थिएनन्। उनलाई सुरक्षाका लागि अन्यत्र सारिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। यद्यपि कहाँ छन् भनेर खुलाइएको छैन।

स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक भिडियो फुटेजमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेको, त्यहाँको स्वीमिङ पुलमा नुहाउँदै गरेको दृश्यहरू देखिन्छ। प्रदर्शनमा भाग लिन देशका विभिन्न भागबाट कोलम्बो पुगेका थिए। प्रदर्शनकारीले आर्थिक संकटमा राजापाक्षेलाई दोषी ठहर्‍याउँदै उनको राजीनामा माग गरेका छन्।

आक्रोशित आन्दोलनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको ‘टेम्पल ट्रिज’ निवासमा पनि प्रवेश गरी तोडफोडका साथै आगजनी गरेका छन्। प्रधानमन्त्री विक्रमासिंघेले भने राजीनामा दिन तयार रहेको घोषणा ट्विटरमार्फत गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार सबै नागरिकको सुरक्षासहितको सरकारको निरन्तरता सुनिश्चित गर्न सर्वदलीय सरकारका लागि विपक्षी दलको प्रस्तावमा सहमति जनाउँदै प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिने तय गरेका हुन्। यसै साता इन्धन वितरण पुनः थालिने र विश्व खाद्य कार्यक्रमका निर्देशक पनि श्रीलंकाको भ्रमण गर्ने तयारीमा रहेकाले पनि प्रधानमन्त्री विक्रमासिंघेको उक्त निर्णय आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कोलम्बो सहर शनिबार दिनभर तनावग्रस्त रह्यो। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ। सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहारका साथै हवाई फायरसमेत गरेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो।

प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यमले जनाएका छन्। श्रीलंकाको नेसनल अस्पतालका अनुसार प्रदर्शनमा घाइते हुनेको संख्या शनिबार साँझसम्म ५५ पुगेको छ। जसमध्ये तीन जना गोली लागेर घाइते भएका र एक जना पूर्वसांसद रहेको जनाइएको छ।

केही दिनअघि भएको प्रदर्शनमा चिकित्सक र बैंकरसमेत प्रदर्शनकारीसँगै सडकमा उत्रिएका थिए। उनीहरूले सरकारलाई कि इन्धन अभाव समाधान गर्न वा पद छाडेर जान माग गरेका थिए। बिजुली कटौती, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक वस्तुको अभावका कारण महिनौंदेखि भएका आन्दोलनका क्रममा ९ जनाको मृत्यु र करिब ३ सय घाइते भएपछि दुई महिनाअघि त्यहाँ सरकार परिवर्तन भएको थियो। तर, यो सरकारले पनि समस्याको समाधान गर्न नसकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। अत्यावश्यक सेवामा संलग्न व्यक्ति भनिए पनि काममा जानका लागि पर्याप्त इन्धन नपाइएको गुनासो त्यहाँका चिकित्सक, नर्स र मेडिकल स्टाफले गरेका छन्।

इतिहासमै ठूलो आर्थिक संकट

श्रीलंकाले इतिहासमै सबैभन्दा खराब र ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। बेलायतबाट सन् १९४८ मा स्वतन्त्र भएयता यो दक्षिण एसियाली राष्ट्रको सबैभन्दा गम्भीर आर्थिक संकट हो। मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा महिनौंदेखि विरोध प्रदर्शन भइरहेका छन्।

देशमा विदेशी मुद्रा सकिएको छ। इन्धन, खाद्यान्न र औषधिलगायत आधारभूत वस्तुको आयात हुन नसक्दा अभाव भएको छ।वर्षौंदेखि सत्तामा रहेका राजापाक्षे परिवारले अर्थतन्त्रको उचित व्यवस्थापन नगरेको र चीनबाट धेरै ऋण लिएको आरोप धेरैले लगाएका छन्।

डलर सञ्चितिमा कमीले निम्तियो संकट

श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको तीव्र कमीका कारण आर्थिक संकट भएको हो। सरकारको आर्थिक व्यवस्थापकीय कमजोरी र कोरोना महामारीको प्रभावका कारण यस्तो भएको आरोप धेरैले लगाएका छन्। कोभिडका कारण पर्यटनमा निर्भर अर्थतन्त्रलाई ध्वस्त पारेको र विदेशी कामदारबाट आउने रेमिट्यान्स पनि घटेपछि समस्या निम्तिएको जानकार बताउँछन्। तेलको बढ्दो मूल्य, लोकप्रियताका लागि कर कटौती र गत वर्ष रासायनिक मल आयातमा ७ महिनाको प्रतिबन्धले कृषि क्षेत्रलाई ध्वस्त बनाएको छ। विश्व बैंकले लगानी गरिरहेका १७ वटा परियोजनाको पुनर्संरचना गर्न श्रीलंका सहमत भएको छ। यसअघि प्रदान गरिएको यस्तै सहयोग इन्धन र औषधि किन्न प्रयोग गरिएको थियो।

वैदेशिक विनिमय सञ्चिति अभावका कारण श्रीलंकाले इन्धन, खाद्यवस्तु र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्नै सकेन। यसका साथै यस वर्ष मेमा पहिलो पटक ऋणको किस्ता तिर्न पनि असफल भयो। श्रीलंकाले ७८ मिलियन डलर तिर्नुपर्ने भए पनि थप ३० दिनको म्याद बढाउँदा पनि ऋण तिर्न असमर्थ भएको थियो।

श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०बाट करिब ३।५ अर्ब डलर बेलआउट रकम खोजिरहेको छ। यसका लागि वार्ता जारी रहेको जनाइएको छ। सरकारले यस वर्ष आईएमएफलगायत अन्तर्राष्ट्रिय समुदायबाट ५ अर्ब डलरको सहायता आवश्यक रहेको जनाएको छ।

बारम्बार असफल प्रधानमन्त्री विक्रमासिंघे

रनिल विक्रमासिंघे गत मेमा छैटौं पटक प्रधानमन्त्री हुने घोषणा हुँदा त्यहाँका जनतामा निराशा र अविश्वास छाएको थियो। विक्रमासिंघेलाई राजापाक्षे परिवारनिकट भनेर हेरिएको थियो। उनीहरूको सुरक्षाको ग्यारेन्टी हुने सम्भावना भएकाले उनलाई छनोट गरिएको भन्ने धेरैले सोचेका थिए। यसअघि पनि उनले कहिले पनि आफ्नो कार्यकाल पूरा गर्न पाएका थिएनन्। प्रदर्शनकारीले शनिबार उनको निवासमा प्रवेश गरेसँगै अब उनले यस कार्यकाल पनि पूरा गर्न नपाउने भएका छन्। उनी स्वयंले राजीनामा दिने जानकारी गराइसकेका छन्।

उनी पहिलो पटक सन् १९७७ मा संसद्मा निर्वाचित भएका थिए। सन् १९८९ मा रणसिंघे प्रमदासा राष्ट्रपतिमा निर्वाचित भएपछि उनी तुरुन्तै पार्टी पंक्तिमा अगाडि पुगेका थिए। उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए। इप्पावाला सहरमा उनले सम्बोधन गरिरहेको सभामा बस विस्फोट हुँदा उनी हत्या हुनबाट बच्न सफल भएका थिए। शताब्दीको अन्त्यतिर उनी राष्ट्रपतिका लागि वास्तबिक दावेदार थिए। तर, कारणवश पछि हटे। सन् २०१९ मा इस्टर चाडका बेला भएको एक घातक बम विस्फोटको समयमा उनी प्रधानमन्त्री थिए। उक्त विस्फोटमा कम्तीमा २ सय ५० जनाले ज्यान गुमाएका थिए। आक्रमणअघि गुप्तचरले दिएको चेतावनीपछि उनी विस्फोट स्थलबाट बाहिरिएका थिए।

उनको दल एक समयको सत्तारुढ यूएनपीले पछिल्लो चुनावमा संसद्मा एक मात्र प्रतिनिधि छाड्न सफल भयो। उनको पार्टीबाट संसद्मा उनी मात्रै एक संसदीय प्रतिनिधि छन्। दुई महिनाअघि उनी पुनः प्रधानमन्त्री नियुक्त हुँदा चौतर्फी आक्रोश व्यक्त भएको थियो। तर, यो कार्यकाल पनि उनका लागि सफल सावित हुन सकेन।

राजापाक्षे पहिले नायक, अहिले ‘खलनायक’

राजापाक्षेका दाजुभाइ महिन्दा र गोटाबायालाई गृहयुद्ध जितेकोमा धेरैले नायकका रूपमा प्रशंसा गरे। तर, अहिले तिनैलाई खलनायकका रूपमा गाली गरिन्छ। एक दशकभन्दा बढी समयदेखि श्रीलंकाको राजनीतिमा प्रभुत्व जमाउँदै आएको परिवार अहिले एकाएक जनताको नजरबाट गिरेको छ। सन् २००९ मा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा महिन्दा राजापाक्षेलाई बहुसंख्यक जनताले नायक

मानेका थिए। किनभने त्यति बेला विद्रोही समूह तमिल टाइगरलाई परास्त गरी करिब तीन दशक लामो गृहयुद्धको अन्त्य गर्न उनले महत्वपूर्ण भूमिका निभाएका थिए।

उनका बुबा सांसद थिए। महिन्दा बिस्तारै विपक्षी दलका नेताका रूपमा संसद्मा उदाय र सन् २००४ मा उनी प्रधानमन्त्री बने। यसको एक वर्षपछि उनी राष्ट्रपति भए। राष्ट्रपति भए लगतै उनले आफ्ना भाइ गोटाबायालाई रक्षा सचिव बनाए।

श्रीलंकाली सेनाबाट अवकाश लिएर अमेरिकामा शान्त जीवन बिताइरहेका महिन्दाका कान्छो भाइका लागि यो ठूलो ‘करियर जम्प’ थियो। त्यसपछि गोटाबायाले पनि विस्तारै प्रख्याति कमाउँदै गए। उनीहरूका दाजुभाइ र आफन्तहरू पनि सरकारमा सामेल हुँदै गए। राजापाक्षे साम्राज्य स्थापना गर्न यसरी महिन्दाले महत्वपूर्ण भूमिका खेलेका थिए।