यसरी भागेका थिए देश कंगाल बनाउने श्रीलंकाका राष्ट्रपति, भाग्दै गरेको भिडियो भाइरल (भिडियोसहित)
काठमाडौं – देश कंगाल बनाउने श्रीलंकाका राष्ट्रपति भागिरहेको भिडियो भन्दै एउटा क्लीप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । श्रीलंकाकै चर्चित मिडियाले सार्वजनिक गरेको उक्त भिडियो क्लीपमा राष्ट्रपति जहाजमा बसिसकेका र उनका सामान राख्न सहयोगीहरु कुदिरहेका देखिएको छ ।
देशको आर्थिक समस्याबाट आक्रोशित हजारौं श्रीलंकन नागरिकले शनिबार कोलम्बोमा राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा हमला गरे निवास वरपर प्रदर्शनकारीको भिड बढ्न थालेपछि राष्ट्रपति भने भवनबाट भागिसकेका थिए ।
राष्ट्रपति कहाँ गएका हुन् भन्नेबारे हालसम्म केही भनिएको छैन । ब्लूमबर्गका अनुसार उनले स्थानीय समयअनुसार बिहान १० बजे आफ्नो निवास छोडेका थिए । यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक केही भिडियोमा केही पुरुषहरू नौसेनाको जहाजमा लगेजजस्तो देखिने सामान लोड गर्न दौडिरहेका देखिन्छन् ।
भिडियोलाई श्रीलंकाको समाचार वेबसाइट डेली मिररले क्याप्सनसहित शेयर गरेको छ, जसमा लेखिएको छ– ‘सामाजिक सञ्जालमा प्रसारित फुटेजमा राष्ट्रपतिको सामान हतारमा कोलम्बो बन्दरगाहमा नौसेनाको जहाजमा राख्दै गरेको दाबी गरिएको छ ।’
प्रदर्शनकारीहरूले विगत श्रीलंकाको हालको संकट राष्ट्रपति राजापाक्ष र उनको परिवारको कारण आएको भन्दै केही महिनादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आएका थिए ।
प्रधानमन्त्री रहेका महिन्दा राजापाक्षले यसअघि नै राजीनामा दिने बताइसकेका छन् भने भाइ राष्ट्रपति गोटाबायाले भने राजीनामा दिन अस्वीकार गर्दै आइरहेका थिए । गोटाबाया राजापाक्षेले राष्ट्रपति भवन छाडे पनि हालसम्म पदबाट राजीनामा भने दिएका छैनन् ।