निक्कै आपतमा सेन्चुरी बैंक, पैसा सकिएपछि गर्न थाल्यो यस्तो हर्कत !
काठमाडौं – वाणिज्य बैंकहरुमध्येको सबैभन्दा कान्छो सेन्चुरी कर्मसियल बैंक निक्कै ठूलो शंकटामा परेको छ । मनलाग्दी रुपमा कर्जा प्रबाह गरेपछि बैंक ठूलो शंकटमा परेको हो ।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ह्वात्तै बढेपछि बैंकलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ । सीडी रेसियो व्यवस्थापन गर्नका लागि बैंकले जुनसुकै हर्कत अपनाउन थालेको छ । आर्थिक बर्षको अन्तिम समयसम्म सिडी रेसियो व्यवस्थापन गर्नका लागि बैंकले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याज दिन थालेको छ ।
व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिंदै आएको बैंकले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतभन्दा धेरै व्याज दिन वचन दिएको छ । गत शुक्रबार नेपाल विद्युत प्राधिकरणले ७५ लाख अमेरिकी डलर बैंकमा राख्ने भन्दै प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा सेन्चुरी बैंकले १८.०१ प्रतिशतसम्म ब्याज दिने भनेर कबुल गरेको थियो ।
बैंकले उक्त निक्षेपको लागि मुद्दतीमा १८.०१ प्रतिशत र कल निक्षेपको लागि ६.५ प्रतिश्त ब्याजदर प्रस्ताव गरेको थियो । आर्थिक वर्षको अन्तिमसम्म पनि सीडी रेसियो कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि बैंक हदैसम्म गिरेर मुद्धती निक्षप संकलनमा लागेको हो ।
नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ । यस्तै कल निक्षेपमा बचतमा दिने न्युनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ ।
बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर कायम भएको छ । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्युन ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । यस आधारमा बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र कल निक्षेपको ब्याजदर ३.०१५ प्रतिशत हुनुपर्ने हो ।
सीडी रेसियो कार्यान्वयन गर्ने अर्को विकल्प नभएपछि बाध्य भएर यसरी ब्याजदर प्रस्ताव गर्नुपर्ने अवस्था आएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । प्रस्तावित ब्याजदर अनुसार उक्त निक्षेप सेञ्चुरी बैंकले पाउनुपर्ने भएपनि बैंकमा निक्षेप आइनसकेको बैंकका एक अधिकारीले बताए ।
‘७५ लाख डलर भनेको आजको दिनमा ९५ करोड २५ लाख नेपाली रुपैयाँ बराबर हो। यो पैसा सीडी रेसियोमा गणना गर्न मिल्छ,’ बैंकका एक उच्च अधिकारीले भने, ‘उक्त रकम निक्षेपमा आउँदा बैंकको सीडी रेसियो सीमाभित्र आउँछ ।’
जेठ मसान्तसम्म बैंकको सीडी रेसियो ९५.८७ रहेको छ । यो ९० प्रतिशत भन्दा तल हुन पर्छ । यही रेडियो तल झार्न बैंकले कानुनभन्दा बाहिर गएर मुद्धती निक्षेप संगलन गरिरहेको छ । सीडी रेसिया बढि भए नेपाल राष्ट्र बैंकले कारवाही गर्ने गरेको छ ।