पार्टी पुनर्गठन अनिवार्यः डा बाबुराम भट्टराई

मंगलबार, २८ असार २०७९

काठमाडौं—जनता समाजवादी पार्टी जसपा का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।

मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि भने, ‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले दुई विकल्प अघि सारेका छन् ।

पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने ।

दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।

भट्टराईले भनेका छन्,‘बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुनेछ ।’