सीसीटीभी काण्ड : फरेन्सिक विज्ञको एउटा जवाफले छानविन समिति जिल्ल

मंगलबार, १० साउन २०७९

काठमाडौं – बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानविन गर्न गठित उच्च स्तरिय संसदीय छानविन समितिले फरेन्सिक विज्ञसँग छलफल गरेको छ । नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज प्रष्ट नदेखिने र एक दुई सेकेन्डका क्लिपका भएपछि छनबिन समितिका सदस्यहरुले विज्ञलाई बोलाएर छलफल गरेका हुन् ।

फरेन्सिक विज्ञको रुपमा दुई जना प्रहरी अधिकृत समितिको बैठकमा आएका थिए । फरेन्सिक विज्ञलाई सांसदहरुले सोधे, ‘भिडियो क्वालिटी किन यस्तो ? मुभीमा जस्तो सरर देखिने हुन्न ?’

रिकभर भएको सीसीटीभी फुटेजमा डेट पनि नबुझिएको र फुटेजका ५१ वटा क्लिप बनाएर पठाएकोमा पनि सांसदहरुको प्रश्न थियो ।

जवाफमा विज्ञद्वयले रिकभर हुनु ठुलो कुरा भएको बताए । प्राविधिक विषय, सिस्टम चेक धेरै ठाउँ भएको लगायतका कारणले क्वालिटीको रिकभर गर्न नसकिएको स्वीकार गरे । आफूहरुले सक्दो प्रयास गरेर पठाएको उनीहरुको जवाफ छ ।