अर्थमन्त्री शर्मामाथि पहिलो गासमै ढुङ्गा, हात ठाडो पार्दै गरे आत्मसमर्पण !

सोमबार, १६ साउन २०७९

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा पूर्वलडाकु हुन् । कसैको डर त्रास, लोभ लालच र प्रलोभनमा नपरी एक्सनमा उत्रिने शर्मा आइतबार भने लुथु्रक्कै गलेका देखिए । अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका शर्माले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण लगत्तै अर्थमन्त्रालय हानिए ।

अर्थ मन्त्रालयको मूल ढोकामा तामाको दुई वटा गाग्री, गाग्रीमाथि हरियो रातो फूल । छेवैमा दहीले भरिएको प्लष्टिकको बट्टा र त्यसमाथि एउटा स्याउ र केरा राखिएको थियो । मूल ढोकामा जस्तै सजावट मन्त्रीको कार्यकक्ष र सभाहलमा पनि थियो । जनार्दन शर्मा अर्थमन्त्री लेखिएको नेम प्लेटदेखि मन्त्रीको कुर्सी तम्तयार थियो भने सभाहलमा नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रमको डिजिटल बोर्ड पनि तयार थियो ।

साँझ ६ बजेर ४६ मिनेटमा जर्नादन शर्मा सवार बा २ झ ३७३३ नम्बरको पजेरो मन्त्रालयको प्राङ्गणमा आइपुग्यो । मन्त्रालयका दायाँपट्टी हातमा फूलको माला बोकेर बसेका राजश्व सचिव कृष्णहरि पुष्करले शर्माको स्वागत गरे । लहरै बसेका कर्मचारीले बुकी र फूल मन्त्री शर्माको हातमा दिइरहँदा बायाँ लहरमा उभिएका माओवादी कार्यकर्ताले ताली पिटेका थिए ।

लाइनमा रहेका कर्मचारीले पनि खादा, माला र पुष्पगुच्छाले शर्मालाई स्वागत गरे । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराई करका दरहरु हेरफेरको आरोपमा छानबिन हुने भएपछि २५ दिनअघि संसदमा राजीनामा घोषणा गरेका शर्मा आरोप पुष्टि नभएपछि दोस्रो पटक आइतबार मन्त्रालय प्रवेश गरेका थिए । आफूलाई बधाई तथा शुभकामना दिनेहहरुसंग समेत खासै नखुलेका मन्त्री शर्मा बधाई र शुभकामनाका माला–खादा पहरिँदै कार्यकक्षमा पुगे ।

राजश्व सचिव कृष्णहरि पुष्करले उनलाई पुनः नियुक्तिपछिको पहिलो निर्णयको फाइल पेश गरे । उनले त्यसमा हस्ताक्षर गरे, केही बोल्न खोजे जस्तो गरेर रोकिए, तर बोलेनन् । सचिवले हलमै बोल्ने भनेपछि शर्मा उठे । यसअघि आफैं अग्रसर भएर अघि–अघि हिंड्ने र बोल्दै हिंड्ने शर्मा मलिन अनुहारमा मन्त्रालयको सभाहल भएको तेस्रो तलामा उक्लिए ।

राजस्व सचिव पुष्करले अर्थमन्त्रीलाई पुनः हलमा स्वागत गरे र आफूहरुको साथ रहेको बताए । सभाहलमा भरिभराउ सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी, माओवादीका सर्मथकबीच अर्थमन्त्रीले तीन मिनेट मात्रै सम्बोधन गरे ।

बजेटको उद्देश्य र त्यसको कार्यान्वयनबारे बोलेका उनले एक, दुई, तीन गर्दै आफ्ना उद्देश्य बताए ।

आफूलाई पुनः नियु्क्ति दिएकोमा प्रधानमन्त्री र गठबन्धनका नेतालाई धन्यवाद भनेका शर्माले कर्मचारीसँग पनि मिलेर काम गर्ने बताए । ठूलो विवाद र आरोपमा संसदीय छानबिनसमेत भोगेका शर्माले आफ्नो विवाद र सफाइबारे पत्रकारसँग प्रश्न(उत्तर गर्लान् भन्ने उपस्थित सञ्चारकर्मीको व्यग्र प्रतीक्षा थियो । तर, उपस्थित पत्रकार र अन्य सबैलाई धन्यवाद भनेर उनी जुरुक्क उठे ।

प्रश्न गर्ने मौका नै नदिई शर्मा उठेपछि पछाडिबाट एक सञ्चारकर्मीले प्रश्न गरे प्रश्नसँग किन डराए मन्त्री रु प्रश्न सोध्ने मौका नै नदिएपछि सञ्चारकर्मीलाई सभाहलको पछिल्लो लाइनमा बसेका कर्मचारीहरुले हाँस्दै भने, ‘अब मिडियाले समाचार चाहिं कस्तो लेख्लान् त ?

हतार हतार कर्यकक्षमा ओर्लिएका शर्मासँगै उनका कार्यकर्ता पनि झरे सभाहल रित्तियो । विस्तारै हलबाट ओर्लंदै गरेका उच्च तहका मन्त्रालयका कर्मचारीसँग गफिँदै सञ्चारकर्मीले सोधे अर्थमन्त्रीमा ‘कन्फिडेन्ट लुज’ भएको हो ?

उनको ‘कन्फिडेन्ट लुज’ भएको मात्र होइन सरकार कर्मचारी समक्ष आत्मसमर्पण समेत गरेका छन् । कडा निर्देशन दिदै कर्मचारीलाई आफ्नो मातहतमा राखेर रिजल्ट निकाल्ने् स्वभावका शर्माले कर्मचारीले आत्मसमर्पण गराएको बताउने गरेका छन् ।