एमालेको गोटी बनेका अर्थसचिवलाई कारवाहीको डण्डा !

सोमबार, १६ साउन २०७९

काठमाडौं – अर्थ सचिव मधकुमार मरासिनीलाई सूचना बेचेको आरोप लागेको छ । अर्थमन्त्रालयसँग सम्बन्धित सूचनाहरु मिडियासम्म पुर्याएर सरकारको बदनाम गरेको उनीमाथि आरोप छ ।

करका दर परिवर्तनमा अनाधिकृत व्यक्तिको संलग्न भएको विषय मिडियामा दिएको अभियोगमा सचिव मरासिनीलाई कारवाही गर्ने सरकारको तयारी छ । उनलाई अर्थमन्त्रालयबाट सरुवा गरेर जगेडामा राख्ने तयारी भइरहेको अर्थमन्त्रालय श्रोतको भनाई छ ।

अर्थमन्त्रीका रुपमा पुनः मन्त्रालय प्रबेश गरेका जनार्दन शर्मालाई स्वागत गर्न समेत नआएपछि सूचना चुवाहाएको पुष्टि भएको छ । उनी २२ असारमा पनि मन्त्रालयमा राखिएको अर्थमन्त्रीको विदाई कार्यक्रम भाँडेर विदामा बसेका थिए । राजीनामा दिन आयोजित कार्यक्रम भाँडिएपछि अर्थमन्त्रीले संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न गराएको आरोपमा संसदीय छानबिन हुने भएपछि अर्थमन्त्री शर्माले संसदमा राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्न चाहेका थिए । तर, अर्थसचिव मरासिनी सो दिनमा पारिवारिक समस्या देखाएर अनिश्चितकालका लागि विदामा बसे । अर्थसचिव विदामा बसेका कारण मन्त्री शर्माले पत्रकार सम्मेलन गर्न पाएनन् तर, संसदमा पुगेर राजीनामा घोषणा गरे । शर्माले राजीनामा दिएको भोलिपल्टै सचिव मरासिनी बिदा सकेर मन्त्रालयमा हाजिर भए ।

मन्त्रीको अनुपस्थितिमा अर्थ मन्त्रालयमा नेतृत्व सम्हालेका मरासिनीले यतिन्जेल सक्रियतापूर्वक काम गरेका थिए । तर, आइतबार जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा दोस्रो पटक नियुक्त हुने दिन भने उनी अनुपस्थित हुनु अर्थपूर्ण रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार सचिव मरासिनी अहिले पोखरामा छन् । उनी एक विदेशी दाताको कार्यक्रमका सिलसिलामा पोखरा पुगेका हुन् । उनले मन्त्रालयमा ‘पारिवारिक जमघट पनि छ’ भनेका छन् ।

‘मन्त्रालयमा विहानै मन्त्रीज्यू आउने थाहा भएको थियो, सचिवज्यूले मन्त्रीको स्वागत गर्न आइपुग्ने समेत बताउनुभएको थियो, तर आउनु भएन’, मन्त्रालयका एक अधिकारीले भने, ‘पछि मिलेन भन्नुभयो ।’

मन्त्रालय स्रोतका अनुसार आइतबार जनार्दन शर्माको पदभार ग्रहणलगत्तै मन्त्री र सचिवबीच टेलिफोनमा कुराकानी भएको छ । आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार पोखरा आउनु परेका कारण मन्त्रालयका उपस्थित हुन नसकेको जानकारी मरासिनीले मन्त्री शर्मालाई गराएका छन् । जवाफमा मन्त्री शर्माले ‘आरामले आउनुस्’ भनेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब मरासिनी मन्त्रालयमा नरहने लगभग पक्कापक्की छ । प्रधानमन्त्री कार्यालयले जनार्दन शर्मालाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने गरी कांग्रेस निकट मरासिनीलाई सचिवका रुपमा ल्याएको थियो । तर मरासिनीले प्रतिपक्षको भूमिका निभाएपछि उनलाई सरुवा गरिने भएको छ ।

मरासिनीले अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष प्रधानमन्त्री कार्यालयले निकालिसकेको छ । गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रीबीचको विवाद साम्य गर्न पनि मरासिनीले मध्यस्थता गर्न नसकेको सकेका थिएनन् । अर्थ मन्त्रालयले गर्नुपर्ने विशुद्ध आर्थिक÷प्राविधिक निर्णयमा पनि मरासिनी कमजोर देखिएका छन् ।

झन् अर्थमन्त्रालयभित्रै अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर चलाएको सम्बन्धमा उठेको विवादमा पनि सचिव मरासिनीले खेलेको भूमिका विश्वसनीय देखिएको छैन । अर्थ मन्त्रालयमाथि उठेका नैतिक प्रश्नको जवाफ समेत उनले आधारसहित दिन सकेनन् ।

‘सचिवज्युले सरुवा मागिसक्नुभएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘उहाँ अर्थ मन्त्रालयमा लामो समय रहनुहुन्न ।’ बजेटमाथि अनेकन प्रश्न उठ्दा प्रतिवाद नगरेको भन्दै अर्थमन्त्री शर्मा पनि मरासिनीसँग सन्तुष्ट थिएनन् ।

सुरुमा सचिव मरासिनी र मन्त्री शर्माको सम्बन्ध निकै सुमधुर थियो । ३० असार २०७८ मा अर्थमन्त्री बनेपछि शर्माले शिशिरकुमार ढुंगानालाई सरुवा गरी मरासिनीलाई अर्थसचिवका रुपमा भित्र्याएका थिए ।

त्यसअघि मरासिनी महालेखा नियन्त्रकको कार्यालयमा थिए । एक वर्षे कार्यकालमा शर्माले धेरै सहसचिवको सरुवा गरे । आन्तरिक राजस्व विभाग र भन्सार विभागमा समेत पटक पटक महानिर्देशकहरु अदलबदल गरे । तर, उनले दुई सचिव मरासिनी र राजस्व सचिव पुष्करलाई भने निरन्तर मन्त्रालयमा राखे ।

धेरैजसो सार्वजनिक कार्यक्रममा मरासिनीले अर्थमन्त्री शर्माको खुलेर प्रशंसा समेत गरेका थिए । शर्माले राजीनामा दिने समयमा मात्रै सचिव मरासिनीले अर्थमन्त्रीलाई असहयोग गरेका थिए ।