बन्यो प्रचण्ड बिनाकै समाजवादी केन्द्र !
काठमाडौँ – नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफल समाजवादी केन्द्र नामको नयाँ पार्टीए खोलेका छन् । नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर सफलले समाजवादी केन्द्र राखेका हुन् ।
मंगलबार बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ राख्ने निर्णय गरेको भन्दै त्यसको जानकारी निर्वाचन आयोगलाई गराइएको छ ।
केन्द्रलाई साझा चुनावी मोर्चाको रूपमा प्रयोग गरेर जाने निर्णय गरेको आयोगलाई लेखिएको पत्रमा उल्लेख छ । चुनावको मिति घोषणापछि समाजवादी केन्द्रमा आबद्ध कुनै दलको चुनाव चिन्ह लिएर आयोगमा पेस गर्ने पत्रमा लेखिएको छ ।
बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जरा, नीलकण्ठ पौडेल, र मिठानाथ देवकोटा सम्मिलित अध्यक्ष मण्डल पनि गठन गरेको छ । यतिबेला साना, ठूला कम्युनिस्ट घटक समाजवादी केन्द्र बनाउने कसरतमा छन् ।
खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम समाजवादी केन्द्र बनाउने कसरतमा छन् ।
प्रचण्डले केही दिनअघि तत्काल समाजवादी केन्द्र निर्माण सम्भव नभएको बताएका थिए । उनीहरुलाई बाइपास गरेर सफल समाजवादी केन्द्र निर्माण गरेका छन् । आगामी निर्वाचनमा यही नामबाट निर्वाचनमा सहभागी हुने केन्द्रको निर्णय छ ।