तातोपानी र रसुवागढी नाकामा चीनले लगायो आकस्मिक नाकाबन्दी !

बिहिबार, २६ साउन २०७९

काठमाडौं – चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड(१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाकामा चिनियाँहरुले आकस्मिक नाकाबन्दी गरेका छन् ।

त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताएका हुन् ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।

‘औपचारिक कुनै जानकारी छैन, कोभिड(१९ बढेको मात्रै भनेको छन् । बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार र मंगलबारसम्म नाका भएर २र३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अखहिले ठप्प छ ।’

तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर, यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको उनको भनाइ छ ।

यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा। रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको मैनालीले बताए । तर, नाका बन्दको अग्रिम जानकारी नदिई एक्कासी मालसामानको ढुवानी रोकिएको उनको भनाइ छ ।